जीवछ यादव
लहान, बैशाख १७ गते । लहान नगरपालिका वडा २० का नौजना स्वास्थ्य स्वयम सेविकालाई साइकल वितरण गरिएको छ । स्वास्थय चौकीसम्म आउन जान सहजताका लागि साइकल वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
साइकल पाउने स्वयमसेविकामा चन्द्रमाया सिंह, रञ्जुकुमारी महतो, इन्द्रकुमारी पासवान, रोखा ठाकुर, नुनुदेवी चौधरी, सञ्जीलाकुमारी महतो शान्ति देवी, रेखादेवी चौधरी र पुनमदेवी महतो रहेका छन् ।
साइकल पाएका स्वयमसेविकाहरुले हाम्रो माग वडा कार्यालयले पूरा गरेको र थप सेवा सुविधा दिएर उत्साहित बनाउन स्वयसेविकाहरुको तर्फबाट नुनुदेवी चौधरीले खुसी व्यक्त गर्नुभयो ।
लहान वडा २० को वडा कार्यालय उद्घाटनको अवसरमा साइकल वितरण राखिएकाले सो कार्यक्रमलाई सम्बोधन गर्दै लहान नगरप्रमुख महेशप्रसाद चौधरीले वडा कार्यालयलाई वयस्थित र स्वास्थ्य चौकीको सेवा विस्तार गरिने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘पहिलेका ब्रम्हान गोडछाडी गाउँपालिका लहान नगरपालिकाको वडा २० को रुपमा गाभिएपछि यस वडामा रहेका विपन्न समुदायका स्थानीयलाई स्वास्थ्य सेवा लिन स्वास्थ्य चौकीलाई व्यस्थित बनाउन पहिलोको वडा कार्यालय भवनमा सारेर ४२ लाखको लगानीमा नयाँ वडा कार्यालय भवन निर्माण गरेका छौं ।’’
लहान नगरपालिकामा रहेको २४ वटा वडामध्ये २३ वटा वडा कार्यालयमा अधिकांश निर्माण भइसकेका छन् । केही वडाहरुमा निर्माण कार्य भइरहेको छ । वडा नम्बर ६ सहरी क्षेत्रका वडा भवन निर्माण गर्न ऐलानी जग्गा नभएकाले निर्माण कार्य अघि नबढेको नगरप्रमुख चौधरीले जानकारी गराउनुभयो ।







