विराटनगर — नेपाल सरकारको स्वास्थ्य संस्था सञ्चालन तथा मापदण्ड सम्बन्धी निर्देशिका, २०७७ ले अस्पताल सञ्चालनका लागि कडा मापदण्ड निर्धारण गरे पनि विराटनगरका केही निजी अस्पतालहरू ती मापदण्ड उल्लंघन गर्दै सञ्चालन भइरहेको पाइएको छ।
निर्देशिकाअनुसार १५ देखि २५ शैयासम्मका अस्पताल सञ्चालन गर्न भूकम्प–प्रतिरोधी भवन, पर्याप्त पूर्वाधार, एम्बुलेन्सको सहज पहुँच, व्यवस्थित फोहोर व्यवस्थापन प्रणालीलगायतका आधारभूत शर्त अनिवार्य हुन्छन्। साथै, अस्पताल भवन नेपाल भवन संहिताअनुसार निर्माण हुनुपर्ने प्रावधान रहेको छ।
तर विराटनगर–७, अस्पताल चोकस्थित ‘प्राइम अस्पताल’ भने यस्ता मापदण्ड विपरीत सञ्चालनमा रहेको आरोप छ। अस्पताल परिसरमै पार्किङको व्यवस्था छैन भने फोहोर व्यवस्थापनका लागि आवश्यक इन्सिनरेटरसमेत उपलब्ध छैन। बिरामी तथा कुरुवाका लागि छुट्टै प्रतीक्षालयको अभाव हुँदा सानो कोठामै सेवा सीमित गर्नुपरेको अवस्था रहेको बताइएको छ।
एम्बुलेन्स आवतजावतका लागि सहज मार्ग नहुँदा बिरामी ल्याउने क्रममा सवारी जाम हुने समस्या देखिएको छ। साथै, बिरामीका कपडा सुकाउने खुला स्थानसमेत अभाव रहेको गुनासो स्थानीयले गरेका छन्।
सबैभन्दा गम्भीर विषय भने अस्पताल सञ्चालन भइरहेको भवनको संरचना नै हो। उक्त भवन अस्पताल प्रयोजनका लागि निर्माण गरिएको नभई निजी आवासका रूपमा बनाइएको घरलाई पछि अस्पतालमा रूपान्तरण गरिएको स्थानीयको दाबी छ। भवन भूकम्प–प्रतिरोधी नभएको र संरचनागत रूपमा समेत कमजोर देखिएको उनीहरूको भनाइ छ।
यसअघि सोही भवनमा सञ्चालनमा रहेको ‘गोल्डेन अस्पताल’ लाई पनि मापदण्ड नपुगेपछि केही समयका लागि मात्रै सञ्चालन अनुमति दिइएको थियो। पछि उक्त अस्पतालले विराटनगर–११ मा आफ्नै मापदण्डअनुसारको भवन निर्माण गरी सेवा स्थानान्तरण गरेको थियो। तर ‘प्राइम अस्पताल’ भने हालसम्म पनि पूर्ण मापदण्डअनुसारको संरचना निर्माण नगरी सञ्चालन भइरहेको आरोप छ।
स्थानीय सरोकारवालाहरूका अनुसार सम्बन्धित निकायले प्रभावकारी अनुगमन नगरेको र केही कर्मचारीले आर्थिक चलखेलका आधारमा अनुमति दिने गरेको आरोपसमेत छ। अस्पतालजस्तो संवेदनशील क्षेत्रमा देखिएको लापरवाहीले बिरामीको सुरक्षामै गम्भीर जोखिम बढाउने भएकाले तत्काल छानबिन गरी मापदण्डअनुसार सञ्चालन गराउनुपर्ने माग स्थानीयले गरेका छन्।






