काठमाण्डाै – सरकारले वैशाख महिनाभर खोप लगाउन छुटेका बालबालिकाका लागि ‘खोज र खोप’ अभियान सञ्चालन गरेको छ ।

सरकारले नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिकालाई खोप लगाउनका लागि ‘खोज र खोप’ अभियान सञ्चालन गरेको स्वास्थ्य सेवा विभागको खोप तथा बाल स्वास्थ्य शाखाले जनाएको छ ।

खोज र खोप अभियानमा १५ महिनामा लगाउनुपर्ने नियमित खोप लगाउन छुटेका ५ वर्षदेखि मुनिका बालबालिकालाई १३ प्रकारका रोगविरुद्ध ९ प्रकारका खोप दिइने छ । सरकारले गएको मङ्सिर र पुस महिनामा खोप लगाउन बाँकी रहेका बालबालिकाको तथ्याङ्क सङ्कलन गरेको छ ।

नेपालमा अहिले पनि ९० प्रतिशत बालबालिकाले पूर्ण मात्रा र १० प्रतिशत बालबालिकाले सबै खोप नलगाएका र १ प्रतिशत बालबालिकाले कुनै पनि खोप लगाएका छैनन् ।

सरकारले रोग, अपाङ्गता र मृत्युबाट बचाउनका लागि जन्मेदेखि ५ वर्षसम्मका उमेरका बाललालिकालाई ती खोप लगाउने गरिन्छ ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार खोपको प्रभावकारिताको कारणले नेपालले सन् १९९६ देखि सन् २०२३ सम्ममा ५ वर्षमुनिका बालबालिकाको मृत्युदर ११८ प्रतिहजार जीवित जन्मबाट २६ दशमलव ५ प्रतिहजार जीवित जन्ममा घटाउन सफल भएको छ ।

केही जिल्लामा खोप छुट बच्चाको सङ्ख्या बढ्न गई दादुरा रुबेलाको महामारी देखापरेकाले मन्त्रालयले बालबालिकाका लागि छुटेको खोप दिन थालेको हो ।

तपाईको प्रतिक्रिया