विराटनगर, चैत २९ गते । कोशी प्रदेशकै पहिलो सलाइन उद्योगले व्यावसायिक उत्पादन सुरु गरेको छ । एक अर्ब रुपियाँभन्दा बढी लगानीमा मोरङको बुढीगङ्गा गाउँपालिका–२ मा ‘एलेक्सा लाइफ साइन्सेज’ ले सबै कानुनी प्रक्रिया पूरा गरी व्यावसायिक उत्पादन थालेको हो । स्वदेशी पुँजी र प्रविधिमा आधारित अन्तर्राष्ट्रिय मापदण्डको उद्योग सञ्चालनमा आएसँगै उद्योगमा १५० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् ।
उद्योगले उत्पादन थालेसँगै आयातमा निर्भर सलाइन र औषधीमा आत्मनिर्भर बन्ने नेपालीको चाहनामा एउटा सकारात्मक प्रयास थपेको उद्योगी दिनेश ठाकुरले बताउनुभयो । उद्योगमा ठाकुर र रञ्जित भगतसहितका लगानीकर्ताले लगानी गर्नुभएको छ ।
लगानीकर्ताले पाँच वर्षको अध्ययन र योजनापछि यो महत्वाकाङ्क्षी परियोजनालाई मूर्त रूप दिनुभएको हो । उद्योगमा जर्मन प्रविधिको अत्याधुनिक मेसिन प्रयोग गरिएका छन् ।
उद्योगले पहिलो चरणमा एक सय एमएलदेखि तीन हजार एमएलसम्मको ‘लार्ज भोल्युम प्यारेन्टरल्स’ सलाइन उत्पादन गरिरहेको छ ।
आगामी दिनमा उत्पादन विस्तार गर्दै एकदेखि २० एमएलसम्मको ‘स्मल भोल्युम प्यारेन्टरल्स’ र तेस्रो चरणमा आँखा तथा कानमा हाल्ने औषधीसमेत उत्पादन गरी बजारमा ल्याउने योजनासाथ काम गरिरहेको उद्योगका निर्देशक ठाकुरले जानकारी दिनुभयो ।
लगानीकर्ता निरुत्साहित भइरहेका बेला व्यावसायिक चुनौतीसँग जुध्दै सञ्चालनमा आएको यस उद्योगले बजार व्यवस्थापनमा भने केही कठिनाइ झेलिरहेको जनाएको छ । “हाम्रो मुख्य उद्देश्य गुणस्तरीय औषधी उपलब्ध गराउनु र परनिर्भरता घटाउनु हो,” ठाकुरले भन्नुभयो, “तर उत्पादन लागत उच्च हुनु र सोही अनुपातमा बजार मूल्य समायोजन नहुँदा हाल घाटा सहेरै उत्पादन गरिरहेका छौँ ।” उहाँले स्वदेशी लगानीलाई प्रोत्साहन गर्न सरकारले नीतिगत सुधार र सहुलियत दिनुपर्नेमा जोड दिनुभयो ।
नेपालको औषधी बजारमा विदेशी कम्पनीका उत्पादनको वर्चस्व छ । यस्तो अवस्थामा गरिएको ठुलो लगानीले नेपाली उद्योग क्षेत्रमा नयाँ उत्साह थपेको र दीर्घकालमा विदेशमा निर्यातसमेत गर्ने लक्ष्यका साथ काम गर्ने उद्योगीले बताउनुभएको छ ।







