काठमाडौँ, चैत २७ गते । श्रम संस्कृति पार्टीका सांसद रुबी कुमारी ठाकुर उपसभामुख पदमा निर्वाचित हुनुभएको छ । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा भएको निर्वाचन प्रक्रियामार्फत् उहाँ उपसभामुख पदमा निर्वाचित हुनुभएको हो ।

उहाँले प्रतिनिधिसभाका कुल उपस्थित ‍‍२५६ मध्ये २२९ सदस्यको मत पाउनुभयो । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सरस्वती लामाले पाँच मत पाउनुभयो । रुबी कुमारीलाई रास्वपा, नेपाली कांग्रेस, नेकपाले समर्थन गरेका हुन् । नेकपा (एमाले) भने उपसभामुखको निर्वाचनमा तटस्थ रह्यो । सदनमा भएको मत विभाजनको प्रक्रियामा २२ सांसद अनुपस्थित हुनुहुन्थ्यो । सभामुख डोलप्रसाद अर्यालले मतपरिणाम घोषणा गर्नुहुँदै सांसद ठाकुर उपसभामुख पदमा अत्यधिक बहुमतले निर्वाचित हुनुभएको जानकारी गराउनुभयो ।

उपसभामुख निर्वाचित रुबीका बुवाको नाम सोगराथ ठाकुर र आमाको नाम रेणु ठाकुर हो ।

उहाँको बुवा सोगराथ ईट्टाभट्टमा काम गर्दै आउनुभएको थियो भने हाल उहाँ वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरबमा हुनुहुन्छ । उहाँको आमा गृहिणी एवम् किसान हुनुहुन्छ ।

२५ वर्षीया उपसभामुख ठाकुरले २०७४ सालमा धनुषाको स्थानीय विद्यालयबाट एसइई उत्तीर्ण गर्नुभएको हो । उहाँले धनुषाको बलरा पोलिटेक्निकबाट तीन वर्षे सिभिल इन्जिनियरिङमा डिप्लोमा गर्नुभएको छ । पढाइ सकेपछि उहाँ आर्किटेचर कन्सल्टेन्सीमा काम गर्दै आउनुभएको थियो ।

जेनजी आन्दोलन पश्चात् उहाँ श्रम संस्कृति पार्टीमा जोडिन पुग्नुभएको थियो । उहाँ श्रम संस्कृति पार्टीको समानुपातिक तर्फको सांसद हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया