केशवराज पौडेल ,काठमाडौँ, चैत २५ गते । तीन साताअघि मोरङको सुन्दरहरैँचा–४ र उर्लाबारी–८ बाट फैलिएको बर्डफ्लु (एच–फाइभ एन–वान) यतिबेला चार जिल्लाका २३ वटा व्यावसायिक फार्ममा फैलिएको पशुसेवा विभागले जनाएको छ ।

विभागका अनुसार मोरङमा आठ, सुनसरीमा १२, झापामा दुई र चितवनको एउटा व्यावसायिक कुखुरा फार्ममा बर्डफ्लु भेटिएको हो । व्यावसायिक फार्म नजिकै ठुला ठुला रुखमा आउने चरामा बर्डफ्लुको सङक्रमण भएको हुन सक्ने र त्यसैबाट लेयर्स कुखुरा फार्ममा सङक्रमण फैलिएको अनुमान विभागले गरेको छ

बर्डफ्लु देखिएपछि कम्तीमा एक लाख १३ हजार ६०८ कुखुरा तथा हाँस नष्ट गरिएको विभागका महानिर्देशक डा.उमेश दाहालले जानकारी दिनुभयो । चार जिल्लामा दुई लाख ११ हजार ८६७ वटा अन्डा र २५ हजार आठ सय किलो दाना नष्ट गरिएको र नष्ट गरिएका पन्छीमध्ये ८५ प्रतिशत लेयर प्रजातिका कुखुरा रहेको दाहालले उल्लेख गर्नुभयो ।

“बर्डफ्लुको फैलाबट दर उच्च हुने भएकाले नष्ट नै गर्न आवश्यक रहेकाले नष्ट गरेका हौँ,” महानिर्देशक दाहालले भन्नुभयो, “अन्य जिल्लामा सङक्रमण फैलिन नदिन आवश्यक सबै कदम चालिएको र तिनै तहको सरकारका सरोकारवाला निकायसँगको समन्वयमा रोकथाम र नियन्त्रणका प्रयास गरिरहेका छौँ ।”

पशुसेवा विभागको सूचना अधिकारी डा. इन्दिरा शर्माले फार्म सिमसारक्षेत्रको नजिक भएको र मानव जैविक सुरक्षामा ध्यान नदिएको र सवारीसाधन र आगन्तुकको अनियन्त्रित आवतजावत देखिएको बताउनुभयो । उहाँले फार्ममा अन्डा राख्ने क्रेटलाई उचित रूपमा निःसङक्रमण नगरी पुनः प्रयोग गरेको र एउटै व्यक्तिले पर्याप्त सुरक्षात्मक उपायबिना जीवित कुखुरा र कुखुराको मासुको व्यापार भएको देखिएको उहाँले बताउनुभयो ।

उहाँले किसानले बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका वस्तुको राहतसम्बन्धी मापदण्ड, २०७९ अनुसार राहत पाउने जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने दररेट निर्धारण समितिको सिफारिसका आधारमा क्षतिको ७५ प्रतिशतसम्म किसानले राहत पाउने कानुनी व्यवस्था छ । बर्डफ्लु कुखुरा, हाँसलगायतका पन्छीमा लाग्ने सङक्रामक भाइरल घातक रोग रहेको पशु चिकित्सक डा. मनोजकुमार शाहीले उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया