काठमाडौँ । मुक्तककार रामसुन्दर देउजा,पूर्णबहादुर श्रेष्ठ ‘ह्रदयङ्कृत’ र सुभद्रा अधिकारीले संयुक्त रुपमा मुक्तक सुनाएका छन् । राजधानीको ठमेलमा सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनमा सम्पन्न उक्त मुक्तक वाचनमा प्रत्येक मुक्तककारले जनही पन्ध्र थान मुक्तक सुनाएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले सुन्दर कार्यक्रमको निम्ति प्रतिष्ठानलाई धन्यवाद दिए । उनले वर्तमान समयमा चतुष्पदीय हरफमा लेखिने मुक्तकले गहिरो भावको सुत्रात्मक अभिव्यक्ति दिने बताए । ‘अनुभूति,भावना अभिव्यक्त गर्ने शक्तिशाली माध्यमको रुपमा मुक्तक रहेको बताउँदै भने अन्य रचनाको तुलनामा मुक्तकमा विम्ब,प्रतिक, अलङ्कार,ध्वनि प्रयोग हुन्छ । मुक्तक जुनसुकै विषयमा पनि लेख्न सकिन्छ ।मुक्तक प्रतिष्ठानले मुक्तकसम्बन्धमा प्रा.डा.लक्ष्मणप्रसाद गौतमको अगुवाईमा सिद्धान्त निर्माण गरी पुस्तक समेत प्रकाशन गरेको छ ।’उनले आफ्ना केही थान मुक्तक समेत सुनाए ।
यसैगरी लोमस वाङ्मय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे अटलले कार्यक्रम सुन्दर रहेको,मुक्तककारहरुका मुक्तकहरु समसामयिक विकृति विरुद्ध लक्षित देखिएका मात्र नभएर देशप्रेम,माटोको माया,भावना,प्रेम,सम्बन्ध लगायतका विषयमा प्रस्तुत भएको बताए । छविरमण सिलवालले उपस्थित सबैलाई धन्यवाद दिंदै आगामी दिनमा पनि सबैको सक्रिय सहभागिताको अपेक्षा गरे । कार्यक्रमको सहजीकरण प्रतिष्ठानका महासचिव प्रदीप सापकोटाले गर्दै मुक्तककारहरुको छोटो परिचय समेत दिएका थिए ।वाचित मुक्तकहरु विषयगत रुपमा विविधता रहेका थिए । मुक्तकहरुमा देशप्रेम,मायाप्रेम,समसामयिक विकृति र विसंगतिप्रति तिव्रतर रोश र व्यङ्ग्य व्यक्तिएका थिए ।







