सन्तोष सुवेदी

पाख्रीबास (धनकुटा), ३१ साउन । कोसी लोकमार्गअन्तर्गत धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थित चारखोले गोलाइमा यात्रुवाहक बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । धरानबाट तेह्रथुमतर्फ जाँदै गरेको को १ ख ५१०५ नम्बरको बस आइतबार बिहान अनियन्त्रित भई सडकछेउमा पल्टिएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते हुनेहरूमा तेह्रथुमको छथर गाउँपालिका-१ की ११ वर्षीया नुमा लिम्बू, छथर-४ का ६९ वर्षीय कविराज थापा र सोही ठाउँकी ५६ वर्षीया शुकमाया लिम्बू रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमन्त भण्डारी क्षेत्रीले उक्त जानकारी दिनुभएको हो ।

उहाँका अनुसार घटनास्थलमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाएको छ । घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बस अनियन्त्रित भई सडकछेउमा पल्टिएको र दुर्घटनाका विषयमा आवश्यक थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

तपाईको प्रतिक्रिया