सिराज खान
नेपालगन्ज, साउन ३१ गते । नेपालगन्ज उद्योग वाणिज्य संघले आर्थिक विषयमा कलम चलाएको भन्दै बाँकेका दुई जना महिला पत्रकारलाई उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।
संघको ३४ औं र ३५ औं वार्षिक साधारण सभामा ‘उत्कृष्ट पत्रकारिता पुरस्कार’ बाट हिमालय टेलिभिजनका नेपालगन्ज संवाददाता निशा शाह र ‘नवोदित पत्रकार पुरस्कार’ बाट दैनिक नेपालगन्जका पत्रकार सजल गैरेलाई सम्मानित गरिएको छ ।
पत्रकार शाहलाई दोसल्ला, सम्मानपत्र र नगद ११ हजार सहित सम्मानित गरिएको छ भने पत्रकार गैरेलाई दोसल्ला, सम्मानपत्र र नगद पाँच हजार १०० सहित सम्मानित गरिएको नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भिम बहादुर रानाभाटले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य र नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी लगायतले दुबैजना पत्रकारलाई सम्मानित गर्नुभयो ।
संघले नेपाल पत्रकार महासंघ बाँकेको सिफारिसका आधारमा दुबैजना महिला पत्रकारलाई सम्मान गरिएको महासचिव रानाभाटले बताउनुभयो ।
संघले आफ्नो बार्षिक साधारणसभामा हरेक वर्ष एक जना पत्रकारलाई सम्मान गर्दै आएको जनाउँदै संघका अध्यक्ष टंक धामीले यस पटक दुई वर्षको साधारणसभा एकै पटक गरिएकाले दुई जना पत्रकारलाई नगदसहित सम्मानित गरिएको बताउनुभयो ।







