चन्द्र पन्दाक
ताप्लेजुङ, साउन ३१ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाका किसानलाई करिव साढे चार लाख अलैँचीको बिरुवा वितरण गरिएको छ । गाउँपालिकाले वडा ७ ओलाङ्चुङगोलाबाहेक अन्य छ वटा वडाका किसानलाई उक्त परिमाणमा अलैँचीको बिरुवा वितरण गरेको हो ।
पालिकाका वडा १ देखि ६ सम्मका किसानलाई कूल चार लाख ४४ हजार ९०० अलैँचीको बिरुवा वितरण गरिएको हो । अर्लाङ, डम्बरसाई र रामसाई जातको अलैँची बिरुवा वितरण गरिएको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले जानकारी दिनुभयो ।
पालिकावासी किसानलाई वितरण गरिएको उक्त अलैँचीको बिरुवा इलामदेखि ल्याइएको अध्यक्ष लिम्बूले बताउनुभयो । उहाँका अनुसार ‘एक वडा, एक उत्पादन’ कार्यक्रमअन्तर्गत किसानलाई अलैँचीको बिरुवा वितरण गरिएको हो । किसानलाई वितरण गरिएको अलैँचीको बिरुवामध्ये भर्लाङ जातको सबैभन्दा बढी तीन लाख १७ हजार ६०० रहेको छ ।
त्यस्तै रामसाई जातको ८६ हजार ६०० र डम्बरसाई जातको ४० हजार ७०० अलैँचीको बिरुवा वितरण गरिएको गाउँपालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । पालिकाका अनुसार वडा १ सावादिनमा भर्लाङ जातको २० हजार अलैँचीको बिरुवा किसानलाई वितरण गरिएको छ ।
वडा २ खेजेनिममा भर्लाङ जात ५८ हजार १०० र डम्बरसाई जातको ३० हजार १०० अलैँची बिरुवा वितरण गरिएको छ । यस्तै वडा ३ लिङ्खिममा भर्लाङ ३० हजार ८०० र डम्बरसाई चार हजार ८००, वडा ४ इखाबुमा भर्लाङ ७४ हजार, रामसाई २४ हजार र डम्बरसाई चार हजार १०० अलैँचीको बिरुवा वितरण गरिएको पालिकाले जनाएको छ ।
पालिकाका अनुसार वडा ५ तापेथोकमा भर्लाङ जातको ६९ हजार २००, रामसाई ३३ हजार ६०० र डम्बरसाई जातको अलैँची बिरुवा ४०० वटा वितरण गरिएको छ । यसैगरी वडा ६ लेलेपमा भर्लाङ ६५ हजार ५००, रामसाई २९ हजार र डम्बरसाई एक हजार ३०० अलैँचीको बिरुवा वितरण गरिएको छ ।
यता वडा ७ ओलाङ्चुङगोला भने अलैँची खेती नहुने हिमाली भू-भागमा पर्ने भएकाले त्यहाँ याक चौँरी पालन प्रवर्धन तथा छुर्पी उत्पादन कार्यक्रममार्फत किसानलाई सहयोग गरिएको गाउँपालिका अध्यक्ष लिम्बूको भनाइ छ । उहाँका अनुसार गत आर्थिक वर्षमा प्रदेश सरकारबाट प्राप्त ५० लाख रुपियाँ र गाउँपालिकाले प्रत्येक वडालाई सात लाख रुपियाँका दरले उपलब्ध गराएको बजेटबाट किसानलाई सहयोग गरिएको हो ।
प्रदेशको बजेटबाहेक गाउँपालिकाले उपलब्ध गराउने सात लाख रुपियाँ प्राप्त गर्नका लागि भने वडाहरुले आफ्नो वडामा पालिकाबाट विनियोजित कुल बजेटको १० प्रतिशत रकम अनिवार्य कृषि योजनामा छुट्याउनुपर्ने निर्देशन गरिएको थियो । ताप्लेजुङ नेपालकै सबैभन्दा बढी अलैँची उत्पादन हुने जिल्लामा पर्दछ भने यहाँका अधिकांश किसान अलैँची खेतीमै निर्भर रहेका छन् ।







