काठमाडौं । वाणिज्य बैंकहरूले २०८३ साल भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक तथ्याङ्क अनुसार बैंकहरूको ब्याजदर घट्ने क्रम भदौमा पनि रोकिएको छैन । २० वाणिज्य बैंकमध्ये पाँच बैंकले साउनको तुलनामा ब्याजदर घटाएका छन् भने अधिकांश बैंकले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन् । बैंकिङ प्रणालीमा उच्च तरलता कायम रहेका कारण साउनको तुलनामा भदौ महिनामा पनि निक्षेपको औसत ब्याजदरमा थप गिरावट आएको हो ।
भदौ महिना व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर साउनको ४.१६७५ प्रतिशतविन्दुबाट ०.०३१५ प्रतिशतविन्दु घटेर ४.१३६ प्रतिशतविन्दुमा झरेको छ भने संस्थागत निक्षेपको औसत दर पनि ३.११६ प्रतिशतविन्दुबाट घटेर ३.०८१ प्रतिशतविन्दुमा झरेको छ । भदौमा ब्याजदर घटाउने पाँच बैंकमध्ये सिद्धार्थ बैंकले व्यक्तिगत निक्षेपमा सबैभन्दा ठूलो कटौती गरेको छ । बैंकले व्यक्तिगततर्फ ०.२९ प्रतिशतविन्दुले दर घटाएर ३.७६ प्रतिशत कायम गरेको छ । संस्थागत निक्षेपमा पनि ०.२० प्रतिशतविन्दु घटाउँदै ३.०५ प्रतिशतमा झारेको छ ।
नेपाल बैंकले व्यक्तिगत निक्षेपको दर ०.१० प्रतिशतविन्दुले घटाएर ४.१५ प्रतिशत कायम गरेको छ । संस्थागत निक्षेपमा भने ०.५० प्रतिशतविन्दुको ठूलो कटौती गर्दै ३.५० प्रतिशतमा सीमित गरेको छ । त्यस्तै, सिटिजन्स बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर घटाएर ३.८५ प्रतिशत कायम गरेको छ । कुमारी बैंकले ३.७६ प्रतिशत तथा स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.८० प्रतिशत ब्याजदर कायम गरेका छन् ।
भदौमा ब्याजदर परिवर्तन नगर्ने बैंकको संख्या भने १५ रहेको छ । नबिल बैंक र प्रभु बैंकले व्यक्तिगत निक्षेपमा अधिकतम ४.५५ प्रतिशत ब्याजदर कायम गर्दै उच्च दरको सूचीमा छन् । नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबी, सानिमा, माछापुच्छ्रे, राष्ट्रिय वाणिज्य र ग्लोबल आइएमईलगायत बैंकले पनि साउनमा कायम गरेको दरलाई नै भदौमा निरन्तरता दिएका छन् ।
बैंकिङ प्रणालीमा पर्याप्त रकम उपलब्ध भए पनि कर्जाको माग सोही अनुपातमा बढ्न सकेको छैन । फलस्वरूप बैंकहरूमा निक्षेप बढ्दै जाने तर कर्जा विस्तार अपेक्षाकृत सुस्त रहने अवस्था छ । यस्तो अवस्थामा निक्षेपका लागि बढी ब्याज तिर्नुभन्दा लागत घटाउने रणनीति बैंकहरूले अपनाएका हुन् ।








