काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले लेखक पक्राउ परेको पुष्टि गरेका छन्। उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

नयाँ सरकार गठनलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। त्यसपछि गृहमन्त्री सुधन गुरुङ ले सुरक्षा निकायका प्रमुखहरूसँग लगातार छलफल गरेका थिए।

प्रहरीले सरकारसँग आधिकारिक लिखित आदेश मागेपछि मध्यराति कानुन मन्त्रालयका सचिवलाई नक्सालस्थित प्रहरी मुख्यालय बोलाइएको थियो। त्यसपछि आवश्यक प्रक्रिया पूरा गरी पक्राउ पुर्जी जारी गरिएको हो।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको दमनबारे आयोगले अध्ययन गरेर प्रतिवेदन तयार पारेको थियो, जुन तत्कालीन अन्तरिम प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई बुझाइएको थियो। प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक नभए पनि यसको अंशहरू सञ्चारमाध्यममा बाहिरिएका छन्।

उक्त प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक तथा तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ विरुद्ध फौजदारी अनुसन्धान अघि बढाउन सिफारिस गरिएको थियो। ओलीविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको जनाइएको छ।

मुलुकी फौजदारी संहिताको दफा १८१ र १८२ अन्तर्गत “लापरबाहीपूर्ण तथा हेलचेक्र्याइँ गरी ज्यान लिएको” कसुरमा कारबाही सिफारिस गरिएको छ। नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले सो सिफारिस तत्काल कार्यान्वयन गर्ने निर्णय गरेपछि प्रहरी सक्रिय बनेको हो।

तपाईको प्रतिक्रिया