विराटनगर / श्री रामनवमी पर्वको अवसरमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सम्पूर्ण नगरवासीमा शुभकामना व्यक्त गर्दै पर्वले समाजमा नैतिकता, अनुशासन र एकताको भावना सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

उनले मर्यादा पुरुषोत्तम भगवान श्रीरामको जन्मोत्सवका रूपमा मनाइने रामनवमीले सत्य, धर्म र कर्तव्यनिष्ठ जीवनशैली अपनाउन प्रेरित गर्ने उल्लेख गरेका छन्। धार्मिक आस्थासँगै यो पर्वले सामाजिक सद्भाव र सहकार्यलाई अझ मजबुत बनाउने अवसर प्रदान गर्ने उनको भनाइ छ।

मेयर कोइरालाले बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले सम्पन्न विराटनगरमा विभिन्न समुदायबीचको सहिष्णुता र एकता नै मुख्य पहिचान भएको बताए। यस्ता चाडपर्वहरूले सामाजिक समावेशिता र पारस्परिक सम्मानलाई अझ प्रगाढ बनाउने विश्वास उनले व्यक्त गरे।

उनले रामनवमीको अवसरमा सबै नगरवासीलाई आपसी मेलमिलाप, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै शान्ति, समृद्धि र विकासतर्फ अग्रसर हुन आह्वान गरे। साथै, भगवान श्रीरामको आदर्शबाट प्रेरित भई सत्य र न्यायको पक्षमा दृढ रहन तथा सकारात्मक परिवर्तनका लागि एकजुट हुनुपर्नेमा उनले जोड दिएका छन्।

मेयर कोइरालाले रामनवमीले सम्पूर्ण नगरवासीमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना गरेका छन्।

तपाईको प्रतिक्रिया