विराटनगर / विराटनगरमा पछिल्ला तीन वर्षमा क्षयरोग (टिबी) बाट १३४ जनाको मृत्यु भएको तथ्य सार्वजनिक भएको छ। नेपाल क्षयरोग निवारण संस्था, शाखा विराटनगरले विश्व क्षयरोग नियन्त्रण दिवसको सन्दर्भमा सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०७८/७९ मा ४२, २०७९/८० मा ३१ र २०८०/८१ मा ६१ जनाको ज्यान गएको छ।

उक्त संस्थाका अनुसार आर्थिक वर्ष २०७८/७९ मा १ हजार ५६ जना क्षयरोगी दर्ता भएका थिए। पछिल्लो आर्थिक वर्ष २०८०/८१ मा ८ हजार ७२८ जना शंकास्पद बिरामीले ओपीडीमा जाँच गराउँदा १ हजार २२९ जनामा सामान्य प्रकारको क्षयरोग पुष्टि भएको थियो। तीमध्ये १ हजार ८३ जनालाई रिफर गरिएको र १४६ जनालाई अस्पतालमै भर्ना गरी उपचार गरिएको जनाइएको छ।

सोही वर्ष जटिल प्रकारका ७०५ जना बिरामी अस्पतालमा भर्ना भएका थिए। जटिल क्षयरोग निको पार्न ७ देखि ८ लाख रुपैयाँसम्म खर्च लाग्ने भए पनि सामान्य क्षयरोगको उपचार भने करिब ५ हजार रुपैयाँमै सम्भव हुने र यसको खर्च सरकारले निःशुल्क रूपमा व्यहोर्दै आएको छ। जटिल प्रकारका बिरामीको उपचारमा भने विदेशी दातृ संस्थाको सहयोग लिइँदै आएको शाखा प्रमुख घनश्याम कोइरालाले बताए।

उनका अनुसार सामान्य क्षयरोगीले कम्तीमा ६ महिना नियमित औषधि सेवन गर्नुपर्ने हुन्छ भने जटिल बिरामीले १८ महिनासम्म औषधि खानुपर्ने हुन्छ।

आर्थिक वर्ष २०८०/८१ मा ओपीडीमा १० हजार ८१५ जनाले नाम दर्ता गराएका थिए। तीमध्ये ९ हजार ५० जनाले खकार परीक्षण, २ हजार ६८७ जनाले एक्स–रे तथा २ हजार ९८५ जनाले ल्याब सेवा निःशुल्क रूपमा लिएका थिए। हाल डट्स सेन्टरमार्फत १४६ जना बिरामीले नियमित औषधि सेवन गरिरहेका छन्।

विराटनगरस्थित १५ शैयाको यो क्षयरोग अस्पताल कोशी प्रदेशकै एकमात्र विशेष अस्पताल हो, जहाँ एक्सडीआर परीक्षणसमेत निःशुल्क गरिँदै आएको छ। बाहिर उक्त परीक्षण गराउँदा करिब १ हजार ८०० रुपैयाँसम्म खर्च लाग्ने बताइएको छ। हाल अस्पतालमा विभिन्न जिल्लाबाट आएका बिरामीसहित ७ जना कैदीसमेत उपचाररत छन्।

तपाईको प्रतिक्रिया