रन्जु कोईराला, विराटनगर /
बुढीगंगामा भएको आगलागीबाट प्रभावित ऋषिदेव बस्तीका १२ परिवारलाई आज युवा संरक्षण मञ्चले राहत स्वरूप खाद्य सामग्री वितरण गरेको छ। आगलागीका कारण घर तथा दैनिक उपभोगका सामग्री गुमाएका पीडित परिवारहरूलाई सहयोग गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो। मञ्चकी अध्यक्ष निशा श्रेष्ठले पीडितहरूको अवस्था बुझ्दै तत्काल राहत उपलब्ध गराउनु आवश्यक रहेको बताइन्। उनले कठिन परिस्थितिमा रहेका परिवारहरूलाई केही राहत मिलोस् भन्ने उद्देश्यले खाद्यान्न सहयोग गरिएको जानकारी दिइन्।
वितरण कार्यक्रममा स्थानीय बासिन्दा तथा स्वयंसेवकहरूको पनि सक्रिय सहभागिता रहेको थियो। पीडित परिवारहरूले सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै यस्ता मानवीय कार्यले आफूहरूलाई हौसला मिलेको बताए। आगलागीबाट प्रभावित क्षेत्रमा अझै थप सहयोग आवश्यक रहेको स्थानीयले बताएका छन्। युवा संरक्षण मञ्चले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।







