काठमाडौँ, चैत ११ गते । वीर अस्पतालले अत्याधुनिक ल्याब मेडिसन (स्पेक्ट, सिटी) उपकरण भित्र्याएको छ । अस्पतालको मेडिकल फिजिसिस्ट प्राडा. कञ्चनप्रसाद अधिकारीका अनुसार उक्त उपकरणको जडानको काम अन्तिम चरणमा रहेको छ । केही दिनमा सञ्चालनमा ल्याउने तयारी गरिएको उहाँको भनाइ छ।
उक्त उपकरण सञ्चालनमा आएपछि क्यान्सर, मुटु, हड्डी तथा मिर्गौला के कस्तो अवस्थामा कम गरिरहेको छ भन्ने पत्ता लाग्ने अधिकारीले जानकारी दिनुभयो ।
सो उपकरणले रोगको प्रारम्भिक चरणमै पहिचान गर्न, फैलावट मूल्याङ्कन गर्न तथा उपचारको प्रभावकारिता निगरानी गर्न मद्दत गर्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “स्पेक्ट प्रविधिले शरीरका अङ्गको कार्य प्रणाली (फिजियोलोजी) देखाउँछ भने सिटी स्क्यानले अङ्गको संरचना (एनाटोमी) स्पष्ट रूपमा देखाउने गर्छ । यो उपकरणको माध्यमबाट फिजियोलोजी र एनाटोमी दुवै प्रविधि एकसाथ प्रयोग हुन्छ ।” यस प्रक्रियामा बिरामीलाई सानो मात्रामा रेडियोएक्टिभ पदार्थ (आइसोटोप) इन्जेक्सनमार्फत दिइन्छ।
उक्त पदार्थ शरीरको अङ्गमा पुगेर निस्कने गामा विकिरणलाई उपकरणले समातेर इमेज तयार पार्ने भएकाले अङ्गको कार्यक्षमताबारे जानकारी प्राप्त हुने उहाँले प्रष्ट पार्नुभयो । उहाँका अनुसार यो उपकरण विशेषगरी क्यान्सर पहिचानमा उपयुक्त मानिन्छ।
साथै मुटुको रक्तसञ्चार, हड्डीको सङ्क्रमण वा क्यान्सर फैलावट तथा मिर्गौलाको कार्यक्षमता अध्ययनमा समेत उपयोगी हुने उहाँले जानकारी दिनुभयो। नयाँ उपकरण सञ्चालनमा आएपछि बिरामीले देशमै उच्चस्तरीय सेवा पाउने र विदेश जानुपर्ने बाध्यता हट्ने उहाँले अपेक्षा गर्नुभयो । अस्पतालका अनुसार रेडियोआइसोटोप नियमित रूपमा उपलब्ध भए दैनिक २० देखि २५ जनासम्म बिरामीको परीक्षण गर्न सकिने छ।
नेपालमा आइसोटोप उत्पादन गर्ने पूर्वाधार नभएकाले विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको छ। स्पेक्ट–सिटी परीक्षणले एकै पटक धेरै जानकारी दिने भएकाले बिरामीलाई अनावश्यक परीक्षण घट्ने, समय र खर्च बचत हुने तथा उपचार छिटो सुरु गर्न सहज हुने उहाँको भनाइ छ । सरकारी अस्पताल भएकाले न्यून शुल्कमा सर्वसाधारणलाई सेवा उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो।
किन्नु परेमा उक्त मेसिन २० करोड रुपियाँ बराबरको पर्ने गर्छ । विश्वका विकसित मुलुक जटिल रोगमा अपनाउँदै आएको स्पेक्ट सिटी मेसिन भियनास्थित इन्टरनेसनल एटोमिक इनर्जी एसोसिएसन (आइइए) ले वीर अस्पताललाई अनुदान दिएको हो । नेपालमा आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि उपकरण भित्र्याइएको डा.अधिकारीले जानकारी दिनुभयो।
यो उपकरण सरकारी अस्पतालमा पहिलो पटक भित्रिएको उहाँको भनाइ छ। यसअघि अस्पतालमा रहेको गामा क्यामेरा मेसिन बिग्रिएपछि करिब एक वर्षदेखि सेवा अवरुद्ध भएको थियो। आगामी दिनमा उपकरण बिग्रिएर सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले बिरामीबाट लिइने शुल्कको ५ देखि १० प्रतिशत रकम छुट्याई, उपकरण बिग्रिएमा त्यसको मर्मतका लागि प्रयोग गर्ने योजना बनाइएको डा. अधिकारीले जानकारी दिनुभयो ।







