काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएका खेलमा कर्णाली प्रदेश र मधेश प्रदेश विजयी भएका छन् ।
जनकपुरमा भएको खेलमा कर्णालीले कोशी प्रदेशलाई १६ रनले हरायो । कर्णालीले दिएको १५२ रनको लक्ष्य पछ्याएको कोशीले ४४ ओभर ४ बलमा १३५ रन बनाउँदा सबै विकेट गुमायो । कोशीका दिपेश कँडेलले २६ रन बनाए । कर्णालीका दिनेश अधिकारीले ५ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको कर्णालीले ३९ ओभर १ बलमा १५१ रन बनाउँदा अलआउट भयो । कर्णालीका विपिन शाहीले ६३ रन बनाए । कोशीका प्रेम कामतले ४ विकेट लिए । प्रतियोगितामा कर्णालीको यो पहिलो जीत हो भने कोशीको लगातार दोस्रो हार हो ।
यस्तै वीरगञ्जमा भएको खेलमा मधेशले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले हरायो । सुदूरपश्चिमले दिएको १६१ रनको लक्ष्य मधेशले ३३ ओभर ३ बलमा ५ विकेट गुमाएर भेटायो । मधेशका अरनिको यादवले नटआउट ४६ रन बनाए । सुदूरपश्चिमका अकोश धामीले ३ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले ४३ ओभर २ बलमा १६० रन बनाउँदा सबै विकेट गुमायो । सुदूरपश्चिमका अभिषेक पालले ३३ रन बनाए । मधेशका अरनिको यादवले ३ विकेट लिए । प्रतियोगितामा मधेशको पहिलो जीत हो भने सुदूरपश्चिमको पहिलो हार हो ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा भइरहेको प्रतियोगितामा ७ वटा प्रदेश र ३ वटा विभागीय टोलीको सहभागिता छ । खेलहरू काठमाण्डौको मूलपानी मैदान तथा मधेश प्रदेशको वीरगञ्ज र जनकपुरमा भइरहेका छन् । प्रतियोगिताको उपाधि विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।







