मोरङ — ग्लोबल मनी सप्ताहको अवसरमा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले विराटनगरका विभिन्न कलेजका विद्यार्थीसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। हिमालय दर्शन कलेज, सिटी कलेज तथा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा फरक–फरक समयमा आयोजित कार्यक्रममा बीमाको महत्व, प्रकार, चुनौती, व्यवहारिक प्रयोग, नेपाली बीमा बजारको अवस्था तथा वित्तीय साक्षरताको आवश्यकता जस्ता विषयमा विस्तृत छलफल गरिएको थियो । अन्तरक्रिया कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरण कोशी प्रदेशकार्यालयका सहायक प्रथम मिलन पोख्रेल ले गरेका थिए ।

कार्यक्रममा कोशी प्रदेश प्रमुख प्रीति देवले बीमाका सैद्धान्तिक तथा व्यवहारिक पक्षबारे जानकारी दिँदै प्राधिकरणको भूमिका, कर्तव्य र अधिकारबारे विद्यार्थी तथा शिक्षकलाई सुसूचित गराउने उद्देश्य रहेको बताइन्। उनले नेपालको वित्तीय प्रणालीको समग्र परिचय प्रस्तुत गर्दै बीमा क्षेत्रको आवश्यकता र विद्यमान चुनौतीहरूबारे प्रकाश पारिन । देवका अनुसार बीमा क्षेत्रको विकासमा युवाहरूको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई यसतर्फ आकर्षित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

कार्यक्रमअन्तर्गत हाजिरीजवाफ प्रतियोगिता समेत आयोजना गरिएको थियो, जसले विद्यार्थीहरूमा उत्साह थपेको थियो। समापनका क्रममा सहभागीहरूले उठाएका जिज्ञासाको समाधान गर्दै उनले बीमा क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेको उल्लेख गरिन् र यस क्षेत्रमा भविष्यको सम्भावना उज्ज्वल रहेको बताइन्। यसैबीच, प्राधिकरणले सञ्चालन गरेको निबन्ध लेखन प्रतियोगिताबारे पनि जानकारी गराइएको थियो। आगामी दिनमा यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।

तपाईको प्रतिक्रिया