काठमाडौँ, फागुन २५ गते । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो परिस्थितिमा संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, कतार, कुवेतलगायत देशमा रहेका नेपाली दूतावासले निर्माण गरेको अनलाइन पोर्टलमा ५१ हजार पाँच सय नेपालीले आफ्नो विवरण पेस गरेका छन् ।
परराष्ट्र मन्त्रालयको निर्देशनमा ती देशमा रहेका राजदूतावास र महावाणिज्य दूतावासहरूले नेपाली नागरिकको वास्तविक अवस्था बुझ्न सञ्चालन गरेको अनलाइन पोर्टलमार्फत अहिलेसम्म सो सङ्ख्यामा रहेका नेपालीले आफ्नो विवरण पेस गरेका हुन् ।
दूतावासहरूका अनुसार त्यसरी विवरण पेस गरेका व्यक्तिले आफूहरू अहिले सुरक्षित रहे पनि जुनसुकै बेला अप्ठ्यारोमा पर्ने सक्ने र सरकारबाट आफ्नो उद्धार हुने अपेक्षासहित सहभागी भएका छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले पोर्टल विवरण पेस गर्नेमा भिसा अवधि समाप्त भएका वा कम्पनीले भिसा रद्द गरिसकेपछि नेपाल फर्कने प्रक्रियामा रहेका र असहज स्थितिमा परेका नेपाली नागरिक रहेको जानकारी दिनुभयो । दर्ता भएका विवरणको प्राथमिकताका साथ अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाइने पनि उहाँले बताउनुभयो ।
विवरण सङ्कलन गर्दा विशेष गरी पहिलो चरणमा विभिन्न देशबाट नेपाल फर्कने क्रममा युएईको विमानस्थलमा अलपत्र परेका नेपालीलाई प्राथमिकतामा राखिएको छ । पछिल्लो पटक भने सबै क्षेत्रमा समस्या देखिएपछि प्रभावित सबै देशमा पोर्टल निर्माण गरी सञ्चालन गरिएको प्रवक्ता पौडेलले जानकारी दिनुुभयो ।
उहाँका अनुसार अनलाइन पोर्टलमार्फत भिसा अवधि समाप्त भएका वा कम्पनीले भिसा रद्द गरिसकेपछि नेपाल फर्कने प्रक्रियामा रहेका र असहज स्थितिमा परेका नेपाली नागरिकको सङ्ख्या ठुलो छ ।
युएईस्थित नेपाली दूतावासका अनुसार फेब्रुअरी २८ पछि बसाइ अवधि नाघेका व्यक्तिका हकमा कुनै पनि जरिबाना नलाग्ने जानकारी प्राप्त भएको छ । यस्तो असहज परिस्थितिमा रहेका नेपालीलाई विचलित नभई संयमता अपनाउनसमेत दूतावासले अनुरोध गरेको छ । अन्य प्रकृतिका समस्या वा अवस्थामा रहेका व्यक्तिका हकमा भने दूतावासले आगामी दिनमा अर्को सूचनामार्फत थप जानकारी गराउने उल्लेख छ ।
परराष्ट्र मन्त्रालयले आपत्कालीन उद्धार टोलीसमेत गठन गरेको छ । यसका लागि आकस्मिक कन्ट्रोल कक्ष सञ्चालन, विमानस्थलमा ट्रान्जिटमा रहेकाको व्यवस्थापन, भिसा सहजीकरण तथा श्रमिकको सुरक्षासम्बन्धी समन्वयका काम भइरहेको सो मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कतारको दोहा अन्तर्राष्ट्रिय विमानस्थल ट्रान्जिटका लागि आंशिक रूपमा खुला भएको र युएई अन्तर्राष्ट्रिय विमानस्थल अर्को सूचना नभएसम्मका लागि बन्द भएको जनाएको छ । यात्रीले युएईका अन्य विमानस्थल, साउदी अरब वा ओमानको मार्ग प्रयोग गर्न सक्ने जनाइएको छ ।
सरकारले खाडी देश तथा पश्चिम एसिया क्षेत्रमा झन्डै १७ लाखभन्दा बढी नेपालीको सुरक्षा, संरक्षण र हितप्रति पूर्ण संवेदनशीलता र प्रतिबद्धता व्यक्त गर्दै सबैलाई आधिकारिक सूचनामा मात्रै विश्वास गर्न र आवश्यक सावधानी अपनाउन अनुरोधसमेत गरेको छ । अमेरिका र इजरायलले इरानमाथि गएको शनिबार गरेको संयुक्त सैन्य आक्रमण र त्यसविरुद्ध इरानले प्रत्याक्रमण गरेपछि पश्चिम एसियाको स्थिति तनावपूर्ण बनेको हो ।
मन्त्रालयले खाडी क्षेत्रका नेपाली नागरिकलाई द्वन्द्वको अवस्थाबारे नियमित जानकारी दिन र सध मन्वयमा रहनका लागि ‘इमर्जेसी रेस्पोन्ड टिम’ सञ्चालन गरेको छ । उक्त समूहले मनोवैज्ञानिक रूपमा त्रसित व्यक्तिलाई अहिले उद्धार गर्न सक्ने अवस्था नभए पनि सरकार तपाईंको साथमा छ भन्ने खालको भरोसा दिने काम गर्दै आएको छ । उक्त ‘रेस्पोन्ड टिम’ चौबिसै घण्टा सञ्चालनमा रहेको त्यहाँबाट तीन सिफ्टमा काम भइरहेको जनाइएको छ ।




![भावी प्रधानमन्त्रीज्यूलाई दोस्रो पत्र [कविता]](https://www.sajhasarokar.com/wp-content/uploads/2026/03/sushmaacharya-300x200.jpg)