- सुषमा आचार्य (अंशु)

सुषमा आचार्य (अंशु)

समयको चौराहामा उभिएको नेपाल
आज पनि प्रश्नहरू बोकेर हिंडिरहेको छ
बहुमतको अर्थ के हो?
दुईतिहाइको शक्ति किन हो?
के त्यो सङ्गठन र कुर्सी जोगाउन
कि संविधानलाई जनताको चाहनासँग
पुनः संवाद गराउन?
यदि जनमतको बहुमत छ भने
त्यो अंक मात्र नहोस्,
त्यो विवेक बनोस्
जहाँ संविधान
कागजको सीमामा होइन
जनताको जीवनमा सुध्रियोस्।

प्रदेशहरूको संरचना पनि
प्रश्नको घेरामा छ
के ती विकासका पुल हुन्
कि खर्चका दरबार?
अर्थतन्त्र थाकेको छ
अनावश्यक तहहरूको भारले,
त्यसलाई खारेज गर्ने साहस पनि
लोकतन्त्रकै बहसबाट जन्मियोस्।

राज्यको ढाँचा
सधैं स्थिर हुँदैन
समयले सोध्छ,
जनताले जाँच्छ,
र बुद्धिले पुनः निर्माण गर्छ ।

तिमीले राम्रो नीति–कानुन बनाउने क्रममा
यदि गल्ती देखियो
र प्रमाणित भयो भने
सभापति या कुनै मन्त्री या सांसद नै किन नहोस्
कानुनको आँखा सबैका लागि एउटै होस्।

दोषीलाई कारबाही होस्,
तर निर्दोष कहिल्यै नफसून्
सत्य बोल्नेहरूको स्वर
राजनीतिक चर्काे आवाजले
कहिल्यै नदबियोस्।

पुर्वहरुका विशेष सेवा–सुविधाहरू
राजनीतिक अभिजात वर्गका
अदृश्य पर्खाल बनेका छन्
यदि राष्ट्रले नयाँ युग खोजिरहेको छ भने
ती पर्खालहरू
न्यायको हातले काटिनुपर्छ।

राष्ट्र निर्माण
नाराले होइन,
नीतिले हुन्छ
जहाँ स्रोतहरू
निजी स्वार्थ होइन
सार्वजनिक हिततर्फ बग्छन्
त्यसैले राष्ट्रियकरणको बहस
केवल विचारधाराको लडाइँ होइन,
यो प्रश्न हो
नेपालका नदी, वन, खानी
र अवसरहरूले
कसको भविष्य बनाउने?
आजको राजनीति
अल्झिएको देखिन्छ,
तर सम्भावना अझै बाँकी छ
यदि नेतृत्वले
सत्ता भन्दा माथि देश देख्न सके,
यदि बहुमतले
अहंकार होइन उत्तरदायित्व बुझ्न सके।

प्रधानमन्त्रीज्यू,
तपाईंलाई फेरि बधाई
किनकि इतिहासले
हरेक सत्तालाई अवसर दिन्छ,
तर केवल दूरदृष्टिले
त्यसलाई युग बनाउँछ।

नेपाललाई
कागजी परिवर्तन होइन
बौद्धिक साहस चाहिएको छ
जहाँ नीति
निष्ठासँग जोडियोस्,
जहाँ शक्ति
उत्तरदायित्वमा बदलियोस्।

त्यो दिन
राजनीति विवादको विषय मात्र रहने छैन,
त्यो हुनेछ
राष्ट्र निर्माणको
सामूहिक चेतना ।
जय देश !

तपाईको प्रतिक्रिया