काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ मा यसपटकको प्रतिनिधिसभा निर्वाचन रोचक मोडमा पुगेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य बनेकी युवा उद्यमी कुन्ती पोखरेल अहिले यस क्षेत्रमा सबैभन्दा चर्चामा रहेकी उम्मेदवार हुन् । एक दशकभन्दा लामो समयदेखि राप्रपाको राजनीतिमा सक्रिय उनी केवल राजनीतिज्ञ मात्र नभएर एक सफल व्यवसायी र जुझारु सामाजिक अभियन्ताका रूपमा पनि चिनिन्छिन् ।

महिला हिंसा विरुद्धको अभियान र राष्ट्रिय गैरसरकारी संस्था समन्वय विभागको नेतृत्व सम्हाल्दै उनले गरेको कामले भुइँतहका मतदातामाझ उनको बलियो पकड बनाएको छ । पोखरेलको चुनावी अभियानमा देखिएको जनलहरले यसपटक काठमाडौँ–२ मा स्थापित भनिएका पुराना नेताहरूलाई ठुलो चुनौती दिएको छ । निर्वाचन क्षेत्रको घरदैलोमा पुग्दा उनले पाएको प्रतिक्रियाले मतदाताहरू परिवर्तनको पक्षमा रहेको प्रस्ट पार्छ।

पटक–पटक चुनाव जितेर जाने तर क्षेत्रको विकासमा वास्ता नगर्ने र पदका लागि निर्वाचन क्षेत्र फेर्दै हिँड्ने उम्मेदवारहरूलाई बिदाइ गर्ने पोखरेलको नाराले सचेत मतदातालाई आकर्षित गरेको छ । उनले राजनीतिलाई पेशा नभई विशुद्ध समाजसेवाको रूपमा परिभाषित गर्दै आएकी छन्, जसले गर्दा जनतामा उनीप्रति भरोसा र विश्वास बढेको देखिन्छ । राप्रपाको ’हिन्दू राष्ट्र र राजसंस्था’ पुनस्र्थापनाको एजेन्डालाई प्रस्ट रूपमा बोकेकी पोखरेलसँग मतदातासँग सजिलै घुलमिल हुन सक्ने विशिष्ट क्षमता छ ।

धर्म र संस्कृति जस्ता संवेगात्मक मुद्दाहरूलाई विकासको खाकासँग जोडेर उनले प्रस्तुत गरिरहेको भिजनले युवा र पाका दुवै पुस्तालाई उद्वेलित पारेको छ । पुराना अनुहारबाट निराश भएका मतदाताहरू यसपटक ऊर्जावान् र सेवामुखी नेतृत्वको खोजीमा रहँदा कुन्ती पोखरेलको जित्ने सम्भावना निकै प्रबल देखिएको छ । निर्वाचनको दिन नजिकिँदै गर्दा उनको चुनावी ग्राफ झन् उकालो लाग्नुले काठमाडौँ–२ मा यसपटक नयाँ र वैकल्पिक शक्तिको उदय हुने सङ्केत गरेको छ ।

तपाईको प्रतिक्रिया