नेपालगन्ज – राप्रपाका महामन्त्री डा. धवल शमशेर राणाले प्रजातन्त्र दिवसकाे अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएकाे भिडियाे सन्देश सान्दर्भिक र स्वागतयाेग्य भएकाे टिप्पणी गरेका छन्।

नेपालगन्जमा आज साझा सरोकार डट कम सँग कुरा गर्दै डा. राणाले अहिलेकाे चुनावले जेनजीकाे माग सम्बाेधन गर्न नसक्ने बताए। उनले अहिलेकाे चुनावमा नयाँले जिते पुरानाले काम गर्न नदिने र पुरानाले जिते नयाँले काम गर्न नदिएर फेरि जिराेमा आउने बताए।

उनले भने, ‘संविधान परिवर्तन गरेर भ्रष्टाचार निर्मूल गर्ने कुरा, राेजगारी, अर्थतन्त्र, धर्मसंस्कृतिलाई पुनःस्थापना गर्ने कुराहरु, राजसंस्थालाई कुनै न कुनै स्पेस दिने कुराहरुलाई लिएर एउटा अन्तरिम संविधान बनाएर या यही संविधानलाई परिवर्तन गरेकाे भए अत्यन्त उत्तम हुन्थ्याे।’

उनले याे चुनावले राष्ट्रकाे फलिफाप नहुने र धाेका हुने बताउँदै यसले तार्किक परिवर्तन नल्याउने बताए। उनले सबैकाे सहमतिमा गाेलमेच गरेर जानु पर्ने बताए।

उनी अहिलेकाे चुनावमा उम्मेदवार छैनन्। २०४८ सालदेखि नै स्थानीय तह र संघीय चुनावमा प्रतिस्पर्धी बनेका राणाले स्वास्थ्यले साथ नदिएकाे र नयाँलाई माैका दिन उम्मेदवार नबनेकाे बताए।

२०७९ काे चुनावमा बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य जितेका राणा त्यसअघि नेपालगन्जकाे दुई पटक मेयर भइसकेका छन्। राप्रपाबाट याे क्षेत्रमा ऋषिराज देवकाेटा उम्मेदवार छन्।

तपाईको प्रतिक्रिया