राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार जारी गरेको भिडियो सन्देशप्रति समर्थन जनाउँदै मुलुकका राष्ट्रिय समस्या समाधान गरेपछि मात्र निर्वाचन प्रक्रियामा प्रवेश गर्नु उपयुक्त हुने बताएको छ ।
पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार आज बसेको केन्द्रीय पदाधिकारी बैठकले यही निष्कर्ष निकालेको हो। बैठकमा निर्वाचनअघि राष्ट्रिय समस्याको समाधान, चुनावपश्चात द्वन्द, अशान्ति र खिचातानी नहोस् भन्ने विषयलाई ध्यानमा राखेर मात्रै निर्वाचन प्रक्रियामा जानुपर्ने निष्कर्ष व्यक्त गरिएको छ ।
‘राष्ट्रिय समस्याको समाधान गरी मात्र निर्वाचन प्रक्रियातर्फ जानु उचित हुनेछ र त्यसपछि मुलुकमा स्थायी शान्ति कायम हुनेछ,’ बैठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन उपत्यका बाहिर रहेकाले बैठकको अध्यक्षता उपाध्यक्ष बुद्धिमान तामाङले गरेका थिए ।





