इटहरी : प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सुनसरीको दक्षिणी सीमा क्षेत्र सुरक्षा जोखिमको संवेदनशील बिन्दका रूपमा देखिन थालेको छ ।

पछिल्लो समय सीमा नाकाबाट अवैध हतियार र लागूऔषध एकैसाथ बरामद हुन थालेपछि सुरक्षा निकाय थप सतर्क बनेका छन् ।

सुनसरीको कोशी गाउँपालिका–३ जमुवा सीमा क्षेत्रमा सशस्त्र प्रहरीको निगरानीका क्रममा पेस्तोल, गोली र ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको अररिया जिल्लाका ३६ वर्षीय राम थेलन रहेका छन् ।

सशस्त्र प्रहरी बल स्रोतका अनुसार निर्वाचनको समयमा अवैध हतियार भित्र्याउने, लागूऔषधको पैसाबाट आपराधिक गतिविधि सञ्चालन गर्ने र राजनीतिक अस्थिरता सिर्जना गर्ने प्रयासहरू हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सीमा क्षेत्रमा विशेष जोखिम मूल्याङ्कन गरिएको छ ।

सशस्त्र प्रहरी बल नम्बर ४ गण ले दक्षिणी सीमा क्षेत्रलाई ‘हाई–अलर्ट जोन’ घोषणा गर्दै पैदल गस्ती, सादा पोसाकमा निगरानी र रात्रीकालीन चेकजाँच तीव्र पारेको जनाएको छ ।

गणका एसपी श्यामकुमार कार्कीका अनुसार बरामद हतियार र लागूऔषध सामान्य तस्करीभन्दा गम्भीर प्रकृतिको आपराधिक नेटवर्कसँग जोडिएको हुनसक्ने आशंकामा अनुसन्धान भइरहेको छ ।

उनका अनुसार यस घटनाले सीमा अपराध नियन्त्रणमा केवल नियमित गस्ती होइन, सूचना–आधारित अपरेसन आवश्यक रहेको संकेत गरेको छ ।

सुरक्षा विश्लेषकहरूका अनुसार भारत–नेपाल खुला सीमाको दुरुपयोग गर्दै चुनावी अवधिमा अवैध गतिविधि बढ्ने प्रवृत्ति देखिँदै आएको छ ।

विशेषगरी सुनसरी, मोरङ र झापाका सीमा क्षेत्रहरू हथियार, लागूऔषध र नक्कली नोटको ‘ट्रान्जिट रुट’ बन्ने जोखिममा रहेको उनीहरूको भनाइ छ ।

तपाईको प्रतिक्रिया