काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी हुँदै आएको विराटनगर किंग्सले लोकप्रिय नेपाली इनर्जी ड्रिंक ब्रान्ड ‘एक्स्ट्रिम’सँग मुख्य प्रायोजकका रूपमा सहकार्य गरेको छ ।
‘कोशीको शान, हाम्रो पहिचान’ नारासहित एनपीएलमा सहभागी विराटनगर किंग्सले पछिल्ला दुई सिजनमा राम्रो प्रदर्शन गर्दै नेपाली क्रिकेटमा आफ्नो पहिचान बनाएको छ । यही यात्रालाई थप मजबुत बनाउने उद्देश्यसहित शुक्रबार विराटनगर किंग्स र ‘एक्स्ट्रिम’बीच मुख्य प्रायोजनसम्बन्धी सम्झौता भएको हो ।
सम्झौतामा ‘एक्स्ट्रिम’की मार्केटिङ प्रमुख सोनिया राणा र विराटनगर किंग्सका सञ्चालक सुयष प्याकुरेलले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार ‘एक्स्ट्रिम’ टिमको मुख्य प्रायोजकका रूपमा रहनेछ । टिमको जर्सीलगायत विभिन्न प्रमुख स्थानमा ‘एक्स्ट्रिम’ ब्रान्डको उपस्थिति रहने जनाइएको छ ।
सम्झौता कार्यक्रममा विराटनगर किंग्सका निर्देशक पारस लुनियाले विदेशी उत्पादनभन्दा स्वदेशी उत्पादनसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । उनले नेपाली क्रिकेटको विकास र प्रवर्द्धनसँगै स्वदेशी उत्पादनको बजार विस्तारका लागि खेलकुद र नेपाली ब्रान्डबीचको सहकार्य आवश्यक रहेको बताए । लुनियाले विराटनगर किंग्सको यात्रामा सहकार्य गरेकोमा ‘एक्स्ट्रिम’लाई धन्यवाद दिँदै आगामी दिनमा नेपाली खेलकुद र नेपाली उत्पादनबीचको सम्बन्ध अझ बलियो बनाउनुपर्नेमा जोड दिए ।
विराटनगर किंग्स र ‘एक्स्ट्रिम’बीचको सहकार्यले टिमको व्यावसायिक यात्रालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । साथै, यस सहकार्यले नेपाली क्रिकेटको प्रवर्द्धन र स्वदेशी उत्पादनको प्रचारमा समेत सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ ।







