इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका–१० मा प्रहरीले खैरो हिरोइनजस्तो देखिने पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ।प्रहरीले उनीहरूको साथबाट लागुऔषध, नगद तथा मोबाइल फोन बरामद गरेको जनाएको छ। प्रहरीका अनुसार इटहरी–१० शिवनारायण टोलस्थित ४१ वर्षीय मोहन गुरुङको घरमा लागुऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचना प्राप्त भएको थियो।सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोली, इलाका प्रहरी कार्यालय इटहरीको मोबाइल टोली तथा क्यूआरटीको संयुक्त टोली बिहीबार दिउँसो करिब ३ बजे गुरुङको घरमा पुगेको थियो।

प्रहरी टोलीले घरमा जाँच गर्दा प्लास्टिकसहित तौल गर्दा ७ ग्राम ८७० मिलिग्राम र प्लास्टिक हटाएर डिजिटल तराजुमा तौल गर्दा ५ ग्राम ८५० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने धुलो पदार्थ फेला पारेको जनाएको छ। प्रहरीले घटनास्थलबाट दुई थान मोबाइल फोन र नगद १८ हजार ५० रुपैयाँसमेत बरामद गरेको छ।पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–१० का ४१ वर्षीय मोहन गुरुङ, उनकी ४९ वर्षीया श्रीमती कुमारी राई (गुरुङ) र इटहरी–४ का २३ वर्षीय अर्जुन काफ्ले रहेका छन्।पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ।बरामद पदार्थको परीक्षण, त्यसको स्रोत तथा कारोबारमा अन्य व्यक्ति संलग्न भए–नभएको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताप्लेजुङमा बाटोमा भेटिएको हतियार प्रहरीको जिम्मा
यसैबीच, ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा एक युवकले सार्वजनिक बाटोमा फेला पारेको हतियार प्रहरीलाई बुझाएका छन्।

फक्ताङलुङ गाउँपालिका–५ मार्गेनमा सुवास सेन्चुरीको घरमा डेरा गरी बस्दै आएका झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरका २१ वर्षीय मुस्कान दियाली हतियारसहित प्रहरी चौकी लुङथुङ लेलेपमा उपस्थित भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दियालीले उक्त हतियार फक्ताङलुङ गाउँपालिका–६ स्थित हान्द्रुङ होटलअगाडिको सार्वजनिक बाटोमा साउन २७ गते दिउँसो करिब १२ बजे फेला पारेका थिए।

उनले हतियार प्रहरीसमक्ष बुझाएपछि घटनाबारे प्रारम्भिक सोधपुछ गरिएको थियो।थप अनुसन्धानका लागि हतियारसहित दियालीलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङतर्फ ल्याइएको प्रहरीले जनाएको छ।प्रहरी चौकी लुङथुङ लेलेपबाट प्रहरी सहायक निरीक्षक जयकुमार लिम्बूको कमान्डमा खटिएको तीन सदस्यीय टोलीले उनलाई जिल्ला प्रहरी कार्यालयतर्फ ल्याएको हो। प्रहरीले बरामद भएको हतियारको प्रकृति, त्यसको स्रोत तथा सार्वजनिक स्थानमा कसरी पुग्यो भन्ने विषयमा अनुसन्धान अघि बढाउने जनाएको छ। दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया