काठमाडौँ – राष्ट्रिय सभाको १९ औँ अधिवेशन समापनका क्रममा विभिन्न राजनीतिक दलका सांसदहरूले प्रतिनिधि सभा सदस्य निर्वाचनबारे आशंका व्यक्त गरेका छन् ।
अधिवेशनको उपलब्धि, छोटो समयमा भएका कामहरू र आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको वातावरणबारे आफ्ना धारणा राख्दै उनीहरुले आसन्न निर्वाचनको निष्पक्षतामाथि प्रश्न गरेका हुन् ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको वातावरण चिन्ताजनक रहेको नेकपाका सांसद वेदुराम भुसालले बताए। भुसालले शान्तिपूर्ण, निष्पक्ष, धाँधलीरहित र भयमुक्त वातावरणमा निर्वाचन होस् भनी सरकारलाई मेहनत गर्न आग्रह गरे ।
कृष्णबहादुर रोकायाले असामान्य परिस्थितिमा निर्वाचन भएको उल्लेख गर्दै निष्पक्ष र धाँधलीरहित बनाउन सरकारसँग माग गरे । उनले सरकारका केही सदस्यहरू हतारमा निर्वाचन लड्न लागेको र दायित्व पूरा नगरेको आरोप लगाए ।
गोपालप्रसाद भट्टराईले निर्वाचन निष्पक्ष हुने संकेत नभएको दाबी गर्दै भ्रष्टाचार मुद्दा फिर्ता लिने प्रयास, जेल ब्रेक, हतियार लुट, प्रहरीको मनोबल गिरेको, सामाजिक सञ्जाल अनियन्त्रित र आचारसंहिता उल्लंघनका घटनाहरू भइरहेको उल्लेख गरे ।
उनले सरकारलाई २० दिनभित्र निष्पक्षताको सन्देश दिन आग्रह गरे ।
जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले भयमुक्त वातावरण नहुने शंका व्यक्त गर्दै हतियार भेटिने, अपराधी जेलबाहिर, राष्ट्रियता सङ्कटमा परेको, विदेशी शक्तिको चलखेल (इण्डो–प्यासिफिक, चीनको धम्की), एमसीसी, पपुलिस्ट राजनीति, हिन्दु राज्य÷राजतन्त्रको माग र क्रिस्चियन मिसनरी गतिविधि जस्ता विषय उठान गरे। उनले सरकारलाई निष्पक्ष निर्वाचन गराउन र आगामी सरकारलाई राष्ट्रियता÷संविधान संरक्षण गर्न आग्रह गरे ।
सांसदहरूले अधिवेशनको कार्यसम्पादनलाई सकारात्मक ठाने पनि आगामी निर्वाचनको शान्ति, निष्पक्षता र धाँधलीरहितताप्रति गम्भीर चिन्ता व्यक्त गरे ।





