- भोजराज घिमिरे

एलिनाज जनावर संरक्षक नेपालद्वारा सहयोगी हातहरूको भव्य सम्मान
चार वर्षदेखि सडकका असहाय र बिरामी कुकुरलाई निःशुल्क उपचार गर्दै उदाहरणीय कार्य
विराटनगर।
आवाजविहीन र सडकमा बेसाहारा अवस्थामा रहेका घाइते, अपाङ्ग तथा रोगी जनावरहरूको उद्धार, संरक्षण र निःशुल्क उपचार गर्ने उद्देश्यले स्थापना गरिएको एलिनाज जनावर संरक्षक नेपालले आफ्ना सहयोगी दाताहरू तथा सामाजिक अभियन्ताहरूलाई सम्मान गरेको छ।
संस्थाले हाल उपचारको क्रममा २७ वटा कुकुरको संरक्षण गरिरहेको जनाएको छ। ती कुकुरहरू प्यारालाइसिस, क्यान्सर, लुतो, सवारी दुर्घटनाबाट गम्भीर घाइते भएका तथा जन्मजात अपाङ्ग अवस्थाका छन्। धरान, विराटनगर तथा आसपासका क्षेत्रबाट उद्धार गरिएका यी कुकुरहरूको नियमित औषधोपचार, हेरचाह तथा पुनःस्थापनाको काम संस्थाले गर्दै आएको छ।
भवनदेखि खानेपानीसम्म सहयोग गर्ने दातालाई सम्मान
संस्थाको भौतिक संरचना निर्माणदेखि कुकुरहरूका लागि खानेपानीको सुविधा (धारा जडान) सम्म महत्वपूर्ण सहयोग पुर्‍याउने एटीभी वार एन्ड रेस्टुरेन्टका प्रोप्राइटर आशिष देव र सिद्धि अधिकारीलाई खादा, मायाको चिनो तथा प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो। उहाँहरूको योगदानले असहाय जनावरहरूको जीवन रक्षा गर्न ठूलो सहयोग पुगेको संस्थाले जनाएको छ।
प्राकृतिक विपत्तिमा साथ दिने विराटनगर लेडिज सर्कल–५
केही समयअघि आएको भीषण हावाहुरीका कारण संस्थाको छाना उड्नुका साथै पर्खाल ढलेर संरचना जोखिममा परेको थियो। सो कठिन अवस्थामा विराटनगर लेडिज सर्कल–५ले नगद रु. १ लाख सहयोग गरी भवन पुनर्निर्माणमा महत्वपूर्ण योगदान दिएको भन्दै सर्कलकी अध्यक्ष कुसुम लुनियासहित सम्पूर्ण टिमलाई सम्मान गरिएको हो।
एलिना प्रसाईंको अध्यक्षतामा कार्यक्रम
सम्मान कार्यक्रम एलिनाज जनावर संरक्षक नेपालकी सभापति एलिना प्रसाईंको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा विराटनगर भन्सार कार्यालय आईसीपीका प्रबन्धक लक्ष्मी सुब्बा सहभागी हुनुहुन्थ्यो।
प्रमुख अतिथि सुब्बाले संस्थाले समाजमा अत्यन्त मानवीय र प्रेरणादायी कार्य गरिरहेको उल्लेख गर्दै ह्यान्डमाइक सहयोग गर्ने तथा कुकुरहरूका लागि खानेकुरा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै उहाँले सभापति एलिना प्रसाईं, संस्थापक सदस्य रमा प्रसाईं र साहिल प्रसाईंलगायत सम्पूर्ण टिमको खुलेर प्रशंसा गर्नुभयो।
चार वर्षदेखि निरन्तर सेवा
संस्थाले विगत चार वर्षदेखि सडकमा रहेका रोगी, क्यान्सरग्रस्त, लुतोग्रस्त, अपाङ्ग तथा दुर्घटनामा परेका कुकुरहरूको उद्धार गरी निःशुल्क उपचार गर्दै आएको छ। उपचारपछि सम्भव भएसम्म पुनःस्थापना तथा सुरक्षित संरक्षणको व्यवस्था गर्दै थुप्रै कुकुरलाई नयाँ जीवन दिन सफल भएको छ।
विशिष्ट अतिथि तथा सम्मानित व्यक्तिहरू
कार्यक्रममा समाजसेवी अबु गुरुङ, सन्दीप घिमिरे, भेटेरिनरी चिकित्सक आयुष काफ्ले, प्रगतिशील आमा समूहकी शशी गौतम, संसारि माइ स्थान भजन समूहकी कोषाध्यक्ष मिना भट्टराई, समाजसेवी जुली प्याकुरेल सिंह, जीवन भट्टराई, उमा शंकर यादव, स्वान रेस्क्यु फाउन्डेसनका संस्थापक इसा राजवंशी, हिक राज श्रेष्ठ तथा नवपथ मिडियाका प्रबन्धक निर्देशक एवं पत्रकार भोजराज घिमिरेलगायतलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रममा संस्थापक सदस्य रमा प्रसाईंले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन पुष्प दाहालले गर्नुभएको थियो।
वक्ताहरूले सरकारी तहबाट पर्याप्त सहयोग नपाए पनि स्वयंसेवी भावना र समाजका सहयोगी हातको भरमा संस्थाले उदाहरणीय काम गरिरहेको भन्दै आगामी दिनमा थप सहकार्यको अपेक्षा व्यक्त गरेका थिए।

तपाईको प्रतिक्रिया