काठमाण्डौं। कर्तव्य ज्यान मुद्दामा १८ वर्ष कैद सजाय पाएर कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले काठमाडौंको झोरबाट पुनः पक्राउ गरेको छ। सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिका वडा नं. ६ घर भएका ५० वर्षीय बसन्त भनिने गुन्ज बहादुर श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) बाट खटिएको टोलीले सोमबार पक्राउ गरेको हो।
श्रेष्ठले कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भई १८ वर्षको कैद सजाय काटिरहेका थिए। उनी २०७३ साल असार २९ गतेदेखि कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा कैद भुक्तानरत रहेको अवस्थामा २०८२ साल भदौ २४ गते देशमा चलेको ‘Gen-Z’ आन्दोलनको मौका छोपी कारागारबाट फरार भएका थिए।
लामो समयदेखि काठमाडौं उपत्यकाभित्रै लुकिछिपी बस्दै आएका श्रेष्ठका बारेमा विशेष सूचना प्राप्त भएपछि ब्यूरोको टोलीले टोखा नगरपालिका वडा नं. १ स्थित झोरबाट उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका श्रेष्ठलाई बाँकी कैद भुक्तानका लागि पुनः कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा बुझाइएको प्रहरीले जनाएको छ।



![भावी प्रधानमन्त्रीज्यूलाई दोस्रो पत्र [कविता]](https://www.sajhasarokar.com/wp-content/uploads/2026/03/sushmaacharya-300x200.jpg)

