- भोजराज घिमिरे

विराटनगर । टीभीएस मोटर कम्पनीले आफ्नो नयाँ विद्युतीय स्कुटर ‘टीभीएस अर्बिटर’ विराटनगरमा सार्वजनिक गरेको छ। टीभीएसको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रालिअन्तर्गत विराटनगरका आधिकारिक विक्रेता पर्श्वनाथ डेभलपर्सको सोरुममा बुधबार पत्रकार सम्मेलन तथा सार्वजनिक कार्यक्रम आयोजना गरी अर्बिटर सार्वजनिक गरिएको हो।
पर्श्वनाथ डेभलपर्सका प्रबन्ध निर्देशक प्रशान्त तातेरले पत्रकारहरूको उपस्थितिमा स्कुटरको औपचारिक सार्वजनिक उद्घाटन गरे। कार्यक्रमको अध्यक्षतासमेत तातेरले गरेका थिए।
कार्यक्रममा बोल्दै तातेरले विराटनगरमा टीभीएस अर्बिटर सार्वजनिक गर्न पाउँदा गौरवान्वित भएको बताए। टीभीएसको विद्युतीय स्कुटर आईक्युब (iQube) ले नेपाली बजारमा हासिल गरेको सफलतापछि अर्बिटरले पनि नेपालको विद्युतीय दुईपाङ्ग्रे सवारी बजारमा कम्पनीको उपस्थिति थप मजबुत बनाउने विश्वास उनले व्यक्त गरे।
“टीभीएस आईक्युबको उल्लेखनीय सफलतापछि टीभीएस अर्बिटरले यही गतिलाई निरन्तरता दिँदै नेपालको दुईपाङ्ग्रे विद्युतीय सवारी बजारमा अग्रणी बन्ने हाम्रो यात्रालाई थप मजबुत बनाउनेमा हामी विश्वस्त छौँ,” तातेरले भने।
उनका अनुसार ग्राहकलाई उत्कृष्ट खरिद तथा स्वामित्व अनुभवसँगै प्रभावकारी बिक्रीपछिको सेवा र सहज पहुँच उपलब्ध गराउन कम्पनी प्रतिबद्ध छ। विद्युतीय सवारीप्रति उपभोक्ताको विश्वास बढ्दै गइरहेको अवस्थामा आईक्युब र अर्बिटरमार्फत नवीन, भरपर्दो तथा दिगो यातायात समाधान उपलब्ध गराउने उनको भनाइ थियो।
कार्यक्रममा टीभीएस मोटरका कोशी तथा मधेस प्रदेश क्षेत्रीय प्रबन्धक अर्जुन खनालले कम्पनी, नेपालमा बढ्दो विद्युतीय सवारीको बजार तथा टीभीएसले अघि बढाइरहेको विद्युतीय मोबिलिटी योजनाबारे जानकारी दिएका थिए।
त्यसैगरी विराटनगरस्थित टीभीएस सोरुमका सेल्स म्यानेजर गोविन्द पोखरेलले अर्बिटरका प्राविधिक विशेषता, प्रविधि, सुविधा तथा प्रयोगात्मक पक्षबारे जानकारी गराए। कार्यक्रममा उपस्थित पत्रकार, ग्राहक तथा अतिथिहरूले नयाँ विद्युतीय स्कुटरको अवलोकनसमेत गरेका थिए।
१५८ किलोमिटरसम्म रेन्ज
स्मार्ट, दिगो र सहरी विद्युतीय यात्रालाई लक्षित गरी ल्याइएको टीभीएस अर्बिटरमा ३.१ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ। कम्पनीका अनुसार एकपटक पूर्ण चार्ज गर्दा स्कुटरले १५८ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ।
अर्बिटरमा स्थिरता र आरामदायी यात्राका लागि १४ इन्चको अगाडिको पाङ्ग्रा राखिएको छ। एरोडाइनामिक डिजाइन, हिल होल्ड असिस्ट, क्रुज कन्ट्रोल, ३४ लिटरको अन्डर–सिट स्टोरेज, कनेक्टेड मोबाइल एप र आधुनिक डिजिटल डिस्प्ले यसका प्रमुख विशेषता हुन्।
स्कुटरमा ५४५ मिलिमिटर लामो फ्ल्याट फुटबोर्ड, २९० मिलिमिटर ग्राउन्ड क्लियरेन्स तथा फराकिलो र आरामदायी सिट रहेको कम्पनीले जनाएको छ।
स्मार्ट प्रविधिसहित सुरक्षा सुविधा
टीभीएस अर्बिटरमा दुर्घटना, स्कुटर ढल्ने, चोरी तथा जियो–फेन्सिङसम्बन्धी अलर्टको सुविधा रहेको छ। मोबाइल एपमार्फत ब्याट्रीको चार्ज अवस्था तथा ओडोमिटर जाँच गर्न सकिने कम्पनीले जनाएको छ।
त्यस्तै, स्मार्ट इमोबिलाइजर, एलसीडी डिजिटल क्लस्टरमा कल, एसएमएस तथा विभिन्न अलर्ट, हिल होल्ड असिस्ट, क्रुज कन्ट्रोल र पार्किङ असिस्टजस्ता सुविधा स्कुटरमा समावेश छन्।
अर्बिटरमा रेजेनेरेटिभ ब्रेकिङसहित इको र सिटी गरी दुई राइडिङ मोड उपलब्ध छन्। एलईडी हेडलाइट, इन्टिग्रेटेड इन्डिकेटर, यूएसबी चार्जिङ पोर्ट र मजबुत स्टिल फ्रेम पनि स्कुटरका विशेषता हुन्।
तीन रङमा उपलब्ध, मूल्य २ लाख ८१ हजार ९ सय
टीभीएस अर्बिटर नेपालमा Neon Sunburst, Cosmic Titanium र Martian Copper गरी तीन रङमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार अर्बिटरको नेपालमा परिचयात्मक मूल्य २ लाख ८१ हजार ९ सय रुपैयाँ तोकिएको छ। आईक्युबको सफलतापछि अर्बिटरले नेपाली विद्युतीय सवारी बजारमा टीभीएसको उपस्थिति थप विस्तार गर्ने अपेक्षा कम्पनीका प्रतिनिधिहरूले गरेका छन्।

तपाईको प्रतिक्रिया