- अभयकुमार राई

मोरङ – नेपाली कांग्रेसभित्र देखिएको महाधिवेशनको विषयमा जिल्ला तहका नेता तथा कार्यकर्ता विभाजित देखिएका छन्।

मोरङबाट भने अधिकतम ५५ जनासम्म आइतबारबाट सुरु हुने भनिएको विशेष महाधिवेशनका लागि काठमाडौँ पुग्ने देखिएको छ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति उपसभापति भक्तिनाथ माझीका अनुसार जिल्लाबाट ५० देखि ५५ जनासम्म विशेष महाधिवेशनमा सहभागी हुने देखिएको हो।

विशेष महाधिवेशनका लागि भनेर जिल्लाबाट शुक्रबारदेखि नै काठमाडौँ जान सुरु भएको बताउँदै उपसभापति माझीले ६ वटा निर्वाचन क्षेत्रबाट जानेहरुको संख्या अपेक्षा गरेभन्दा कम रहेको उल्लेख गरे।

मोरङका ६ वटा निर्वाचन क्षेत्रबाट १ सय ५० जना महाधिवेशन प्रतिनिधि रहेको बताउँदै उनले विशेष महाधिवेशनका लागि अधिकतम ५५ जनासम्म पुग्ने उल्लेख गरे। त्यसैगरि मोरङ क्षेत्र नम्बर १ बाट अधिकतम् १२ जनासम्म पुग्ने लेटाङ नगरपालिकाका पूर्वमेयर तथा कांग्रेस नेता शंकर राईले बताए। सो क्षेत्रबाट २५ जना महाधिवेशन प्रतिनिधि रहेको बताउँदै उनले अधिकांशलाई झुक्याएर हस्ताक्षर गराइएको दाबी गरे।

उनले भने, ‘धेरै साथीहरुलाई हस्ताक्षर झुक्याएर गराइएको थियो। अहिले कुरा बुझ्नुभएको छ। हस्ताक्षर गर्नेहरु पनि नियमित महाविशेनको पक्षमा हुनुहुन्छ। काठमाडौँ जानेमा उहाँहरु पर्नुहुन्न।’

अर्कोतर्फ, मोरङ क्षेत्र नम्बर २ स्थित रतुवामाई नगरपालिकाका पूर्वप्रमुख रविन राईले विशेष महाधिवेशनका लागि आफू काठमाडौँ पुगेको बताए। उनले भने, ‘२५ जनामा १९ जनाले हस्ताक्षर गर्नुभएको छ। तर, २ जना बिरामी हुनुभएकोले काठमाडौँ जाने अवस्थामा हुनुहुन्न। पुरातन सोचबाट पार्टी अघि बढ्न सक्दैन। नयाँपन र नयाँ नेतृत्वका लागि यो महाधिवेशन सफल बनाउनु नै कांग्रेसीको धर्म हुनेछ।’

विशेष महाधिवेशनका लागि मोरङमा सबैभन्दा बढी क्षेत्र नम्बर ५ र ४ बाट प्रतिनिधि पुग्ने अनुमान जिल्ला कार्यसमितिको छ। मोरङको क्षेत्र नम्बर ५ बाट अधिकतम १७ जनासम्म महाधिवेशनमा सहभागी हुने अपेक्षा कार्यसमितिको छ।

विगत १० वर्ष जिल्लाको नेतृत्व सम्हालिसकेका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद अमृत अर्यालको क्षेत्र हो।

मोरङको क्षेत्र नम्बर ४ बाट पनि १३ जनासम्म विशेष महाधिवेशनका लागि काठमाडौँ पुग्ने बताइएको छ। यस क्षेत्रबाट प्रदेशका नवनियुक्त वन पर्यटन तथा वातावरण मन्त्री भीम पराजुली, पूर्व केन्द्रीय राज्यमन्त्री दीलिप गच्छदार, भुटनीदेवी खवासलगायतका नेताहरु भने काठमाडौँ नजाने नेपाली कांग्रेस कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ताले जानकारी दिए।

उनका अनुसार अहिलेको अवस्थामा विशेष र नियमित महाधिवेशनको मध्यमार्ग भनेको संकल्प महाधिवेशन हुनेछ।

क्षेत्र नम्बर ६ बाट भने २५ जनाले विशेष महाधिवेशनमा नजाने गरी सहमति गरेको क्षेत्रीय सभापति देवराज तामाङले जानकारी दिए।

तपाईको प्रतिक्रिया