विराटनगर /
तौल घटाउने सुई लिन छाडेपछि तौल चार गुणा छिटो बढ्न सक्ने एक अध्ययनले देखाएको छ ।

तौल घटाउने सुईहरू द्रुत गतिमा लोकप्रिय हुँदै गइरहेका छन्, तिनीहरूलाई ‘स्किनी ज्याब्स’ वा सामान्यतया ‘स्लिमिङ इन्जेक्शन’ भनेर चिनिन्छ । ‘मन्जारो’ वा ‘भिगोभी’ जस्ता तौल घटाउने यी सुईहरूले भोक कम गर्छन् र छिटो तौल घटाउन मद्दत गर्छन् ।

तौल घटाउने सुईले बढी तौल भएका व्यक्तिहरूको तौल उल्लेखनीय रूपमा घटाउने बेलायती मेडिकल जर्नलमा प्रकाशित अनुसन्धानलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

सुईले उनीहरूको तौल २० प्रतिशतले घटाउने तर सुई लिन बन्द गर्नेबित्तिकै उनीहरूको तौल फेरि प्रतिमहिना औसत शून्य दशमलव आठ किलोग्रामले बढ्न थाल्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ । यसअनुसार यस्ता सुई प्रयोग गर्नेहरूको तौल डेढ वर्षभित्र पहिलेको जस्तै हुन्छ ।

यी सुईहरू लिने मानिसहरूले उपचार बन्द गरेपछि तौल द्रुत रूपमा बढ्ने जोखिम हुन्छ भन्ने कुरामा सचेत हुनुपर्ने अक्सफोर्ड विश्वविद्यालयकी अनुसन्धानकर्ता डा. सुसान जेब बताउनुहुन्छ । उहाँले यी नतिजाहरू चिकित्सा परीक्षणबाट आएका र तौल घटाउने सुईहहरूको प्रभावकारितामा थप अनुसन्धान आवश्यक रहेकोमा जोड दिनुभएको छ ।

नियमित आहार वा अन्य औषधिहरूसँग लोकप्रिय तौल घटाउने सुईहरूको तुलना गर्न अनुसन्धानकर्ताहरूले नौ हजार जनाभन्दा धेरै बिरामी समावेश गरिएका ३७ वटा अध्ययनको जाँच गरेका थिए ।

अनुसन्धानकर्ताहरूका अनुसार ‘डाइटिङ’ गर्ने मानिसहरूले सुई लिनेहरूको तुलनामा कम तौल घटाउन सक्छन् तर पछि उनीहरूको तौल बिस्तारै फेरि बढ्दै जान्छ । ‘डाइटिङ’ मार्फत तौल घटाउने मानिसहरूले ‘डाइटिङ’ छोडेपछि प्रतिमहिना औसत शून्य दशमलव एक किलोग्राम तौल बढाउने प्रतिवेदनको अनुमान छ । यद्दपि यो अवस्थाअनुसार फरक हुन सक्छ ।

तपाईको प्रतिक्रिया