विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङमा साढे चार हजारभन्दा बढी निर्वाचन प्रहरी भर्ना गरिने भएको छ। निर्वाचनको सुरक्षालाई प्रभावकारी बनाउन ४ हजार ५ सय ५४ जना निर्वाचन प्रहरी भर्नाका लागि आइतबारदेखि दरखास्त आह्वान गरिएको हो।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालका अनुसार भर्ना हुनेमध्ये ५ सय ७१ जना सशस्त्र प्रहरी बलतर्फ र बाँकी नेपाल प्रहरीतर्फ रहनेछन्। निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई एकीकृत रूपमा परिचालन गरिने उनले जानकारी दिए।
निर्वाचन प्रहरीका लागि आवश्यक योग्यता पुगेका इच्छुक उम्मेदवारले जिल्ला प्रहरी कार्यालय मोरङ तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर–३ कंकालिनी गण, टंकिसिनवारीमा सम्पर्क गरी दरखास्त फारम बुझाउन सक्नेछन्।
निर्वाचन कार्यालय मोरङका सूचना अधिकारी तीर्थ अधिकारीका अनुसार जिल्लाका ६ वटा निर्वाचन क्षेत्रमा ३ सय ६ वटा मतदान स्थल र ८ सय ८८ वटा मतदान केन्द्र निर्धारण गरिएको छ। मोरङमा कुल ७ लाख ८३ हजार ५० जना मतदाता रहेका छन्। तीमध्ये पुरुष मतदाता ३ लाख ९९ हजार ६ सय ८६, महिला ३ लाख ८३ हजार ३ सय ५७ र अन्य ७ जना रहेका छन्।
निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गर्न आवश्यक सबै तयारी तीव्र पारिएको सुरक्षा निकायले जनाएको छ।





