विराटनगर । स्रोत नखुलेको ३ लाख ३ हजारभन्दा बढी नेपाली रूपैयाँसहित विराटनगरबाट १ जना भारतीय नागरिकलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार रहेका भारत बिहारको अररियास्थित फारबिसगन्जका ५५ वर्षीय नन्दलाल बाहेती पक्राउ परेका हुन् । अस्थायी प्रहरी पोस्ट मटेरुवाबाट खटिएको असई जागेन्द्र फुयाँल नेतृत्वको टोलीले बाहेतीलाई विराटनगर महानगरपालिका–१७ बाट बिहान ११ः४५ बजेतिर पक्राउ गरेको हो ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार जोगवनीबाट बीआर ३८ एए ८३०६ नम्बरको स्कुटरमा विराटनगरतर्फ आउँदै गर्दा बाहेतीलाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा पाइन्टको भित्री भागमा लुकाइछिपाइ राखिएको अवस्थामा स्रोत नखुलेको नेपाली रूपैयाँ बरामद भएको जानकारी उनले दिइन् ।

चुँडालका अनुसार बाहेतीको साथबाट १ हजार दरको ३ सयवटा, ५ सय दरका ४ वटा र १ सय दरको ११ वटा नोट फेला परेको छ । साथबाट बरामद भएको ३ लाख ३ हजार १ सय रूपैयाँ र स्कुटरसहित बाहेतीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ ।

साथबाट बरामद भएको रकमको स्रोत स्पष्ट नभएपछि पक्राउ गरिएका बाहेतीमाथि इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ । बरामद भएको रकम अवैध हुण्डी कारोबारको भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

तपाईको प्रतिक्रिया