विराटनगर ।
सुनसरीको दुहबी नगरपालिकाको १८औँ नगरसभा सम्पन्न भएको छ। नगरप्रमुख वेदनारायण गच्छादारको अध्यक्षतामा आयोजित नगरसभामा उपप्रमुख मेनुका खतीवडा, वडा नम्बर १ देखि १२ सम्मका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेसहित जनप्रतिनिधि, विभिन्न शाखाका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

नगरसभालाई सम्बोधन गर्दै नगरप्रमुख वेदनारायण गच्छादारले ‘जेन जी आन्दोलन’का क्रममा दुहबी नगरपालिकाको प्रशासनिक भवनमा पुगेको क्षतिका कारण ठूलो नोक्सानी व्यहोर्नु परेको जानकारी दिए । उनले आन्दोलनका कारण देशभर नै अकल्पनीय क्षति पुगेको उल्लेख गर्दै नवगठित सरकारले पुनर्निर्माण र आगामी निर्वाचनलाई प्राथमिकता दिँदा बजेट कटौती भएको र यसले अपेक्षित विकास निर्माण कार्यलाई गति दिन कठिनाइ उत्पन्न भएको बताए।
चालु आर्थिक वर्षमा अपेक्षित राजस्व संकलन हुन नसक्दा नगरपालिका थप संकटमा पर्न सक्ने भन्दै नगरप्रमुख गच्छादारले आन्तरिक स्रोत वृद्धि गर्न सम्पूर्ण कार्यपालिका सदस्य र कर्मचारी एकताबद्ध भएर अघि बढ्न आग्रह गरे। उनाका अनुसार चालु आर्थिक वर्षको लक्ष्यअनुसार राजस्व संकलन ३२ करोड ४ लाख रुपैयाँ हुने अनुमान गरिएको भए पनि हालसम्म मात्र ३ करोड ५९ लाख २२ हजार ३१८ रुपैयाँ संकलन भएको छ।

त्यसैगरी प्रदेश सरकारबाट राजस्व बाँडफाँडबापत प्राप्त हुनुपर्ने १ करोड ४ लाखमध्ये हालसम्म ३० लाख ९७ हजार रुपैयाँ मात्र प्राप्त भएको र संघीय सरकारबाट प्राप्त हुनुपर्ने ११ करोड ७२ लाखमध्ये हालसम्म ५ करोड १ लाख १४ हजार रुपैयाँ मात्रै आएको नगरप्रमुखले जानकारी दिए। लक्ष्यअनुसार बजेट प्राप्त हुन नसक्दा नगरपालिकामार्फत सञ्चालन हुने विकास निर्माणका काम प्रभावित हुन नदिन आन्तरिक राजस्व संकलनमा तीव्रता दिनुपर्ने उनको जोड थियो।
नगरसभामा नगरप्रमुख गच्छादारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ का विभिन्न प्रस्तावहरू सर्वसम्मत रूपमा पारित भएका छन्। जनताको न्यूनतम आवश्यकतालाई मध्यनजर गर्दै रोजगार र सीपमूलक कार्यक्रमहरू थप गर्दै जाने तथा भैपरी आउने पूँजीगत खर्चतर्फ कटौती गरिएको रकम पुनः पूँजीगत शीर्षकमै थप गरिएको जानकारी दिए।

नगर अस्पताललाई जनमुखी र गुणस्तरीय सेवामुखी बनाउन निर्देशन दिँदै नगरप्रमुख गच्छादारले कर्मचारी तथा चिकित्सकहरूलाई कुनै कञ्जुस्याइ नगरी न्यायोचित सेवा प्रवाह गर्न आग्रह समेत गरे । सेवाग्राहीलाई हेप्ने, अवमूल्यन गर्ने वा अनावश्यक झन्झट दिने कार्य गर्ने जो–कोहीलाई क्षम्य नदिइने चेतावनीसमेत दिए। नगरसभामा स्वागत मन्तव्य व्यक्त गर्दै उपप्रमुख मेनुका खतीवडाले आर्थिक वर्ष २०८२/०८३ को कार्यप्रगति तथा कार्यविवरण प्रस्तुत गरिन्। उनले न्यायिक समितिमा मुद्दा दर्ता हुने क्रम बढ्दै गएको उल्लेख गर्दै न्याय सम्पादनको जिम्मेवारी प्रभावकारी बनाउन कर्मचारी र जनप्रतिनिधिबीच अझ सुदृढ सहकार्य आवश्यक रहेको बताए। १८औँ नगरसभाको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले गरेका थिए।

तपाईको प्रतिक्रिया