भक्तिविलास पोखरेल
गाईघाट, पुस २४ गते ।
ऐतिहासिक गढी र किल्लाहरुको संरक्षण तथा संवर्धन गर्ने उद्देश्यले नेपाली सेनाले उदयपुरगढीदेखि चौदण्डीगढीसम्मको पाँचदिने पदयात्रा सुरु गरेको छ । जिल्लाको सदरमुकाम गाईघाटस्थित बोक्सेमा रहेको नेपाली सेनाको पशुपतिप्रसाद गणकोे आयोजनामा सो पदयात्रा सुरु गरिएको हो ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर गणले पुस २३ देखि २७ गतेसम्म उदयपुर जिल्लाका दुईवटा फरकफरक स्थानमा रहेका पुराना ऐतिहासिक स्थल उदयपुरगढीदेखि अर्को ऐतिहासिक स्थल चौदण्डीगढीसम्मको करिव ८५ किलोमिटर लामो महाभारत पहाड क्षेत्रमा पदयात्रा सुरु गरेको हो ।

उदयपुरगढीमा आयोजित उक्त पदयात्राको सुभारम्भ समारोहमा नेपाली सेना पूर्वीपृतनाका पृतनापति उपरथी गौरवकुमार केसीले गढी र किल्लाहरु भनेको ढुङ्गा माटो र इटाका थुप्रोहरु नभएर हाम्रा पुर्खाहरुले राष्ट्रिय स्वाधिनता बचाउनका लागि गर्नुभएको त्याग र बलिदानको निशानी भएको बताउनुभयो ।

पृतनापति केसीले ऐतिहासिक महत्त्वपूर्ण गढीको संरक्षण र संवर्धनका लागि जनचेतना जगाउने, पुर्खाहरुको गौरव गाथालाई खोज अनुसन्धान गरी प्राप्त उपलब्धीहरुलाई भावि पुस्ताका लागि लिपिबद्ध गर्ने र नेपालको राष्ट्रिय एकता अखण्डता र शार्वभौमिक्ताई अक्षुण राख्ने भावना युवा पुस्तामा जगाउनु यसको थप उद्देश्य रहेको बताउनुभयो ।

राष्ट्रिय एकता दिवस २०८२ को अवसर पारेर आयोजना गरिएको उक्त पदयत्राको नेतृत्व गर्ने पशुपति प्रसाद गणका सहायक सेनानी डिल्लिदाश श्रोष्ठलाई पृतनापति केसीले राष्ट्रिय झण्डा र नेपाली सेनाको झण्डा हस्तानतरण गर्नुभयो ।

सोही कार्यक्रममा पशुपति प्रसाद गणका गणपति प्रमुख सेनानी मनोजकुमार कार्कीले कार्यक्रम सम्बन्धि बिस्तृत जानकारी गराउदै पदयात्राको माध्यमबाट जनचेतना जगाउने र उदयपुरगढी र चौदण्डीगढीको ऐतिहासिक पुरातात्विक वस्तु संरक्षण र गढीको पर्यटन प्रवर्धनमा समेत टेवा पुर्याउने लक्ष्य रहेको बताउनुभयो ।

सो कार्याक्रममा त्रियुगा नगरपालिकाका नगर उपप्रमुख महेश्वरी राई, उदयपुगढी र रौतामाई गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष क्रमशः मानबहादुर मगर र जितबहादुर कार्की तथा विरेन्द्रकुमार मगर र भुपेन्द्र थापा, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया