विराटनगर-पशुपंक्षी औषधि बजारमा अराजकता कि सुधार ?
विराटनगर शाखाको अधिवेशनले उठायो गम्भीर प्रश्न, नयाँ कार्यसमितिलाई चुनौती-
पशुपंक्षी औषधि बजार वर्षौंदेखि अनुगमनको कमजोर घेराभित्र चल्दै आएको संवेदनशील क्षेत्र हो। नक्कली औषधि, म्याद गुज्रेका सामग्री, दर्ता बिना कारोबार र प्राविधिक मापदण्डको बेवास्ता—यी सबै समस्या खुला रूपमा देखिँदै आएका छन्। यही पृष्ठभूमिमा नेपाल पशुपंक्षी औषधि बजार प्रतिनिधि संघ, विराटनगर शाखाले आफ्नो प्रथम अधिवेशन सम्पन्न गर्दै संगठन सुदृढीकरणको दाबी गरेको छ।
इटहरीस्थित होटल दरबार (भाटभटेनी नजिक) मा २०८२ साल पौष १९ गते सम्पन्न अधिवेशन संघका अध्यक्ष मदन लामिछानेको अध्यक्षता तथा प्रमुख अतिथि तुलसी भण्डारीको उपस्थितिमा सम्पन्न भएको हो। अधिवेशन केवल औपचारिक कार्यक्रममै सीमित नभई व्यवसायिक विकृति, सरकारी उदासीनता र संघकै आन्तरिक कमजोरीमाथि पनि प्रश्न उठाउने मञ्च बनेको सहभागीहरूको भनाइ छ।
अधिवेशनमा प्रस्तुत प्रतिवेदनहरूमा विराटनगर, इटहरी र आसपासका बजार क्षेत्रमा पशुपंक्षी औषधि खुलेआम बिक्री भइरहेको, तर त्यसको गुणस्तर, भण्डारण र प्रयोगसम्बन्धी मापदण्ड पालना नगरेको उल्लेख गरिएको थियो। यसले पशुपालक किसान मात्र होइन, उपभोक्ताको स्वास्थ्य र समग्र खाद्य सुरक्षामा समेत गम्भीर खतरा सिर्जना गरिरहेको निष्कर्ष निकालिएको छ।
कार्यक्रममा वक्ताहरूले सरकारी नियामक निकायहरू केवल कागजी अनुगमनमै सीमित रहेको आरोप लगाए। “अनुगमनको नाममा हुने औपचारिकता र मौन सहमतिले बजार झनै अराजक बन्दै गएको छ,” एक सहभागीले खुलेरै टिप्पणी गरे। संघ स्वयं पनि विगतमा प्रभावकारी भूमिका खेल्न नसकेको स्वीकारोक्ति अधिवेशनमा सुनिएको थियो।
यही अधिवेशनबाट संघको दोस्रो कार्यसमिति चयन गरिएको छ। नवनिर्वाचित अध्यक्षमा सन्दीप तिम्सिना चयन भएका छन्। निवर्तमान अध्यक्ष मदन लामिछाने, उपाध्यक्ष सन्तोष यादव, सचिव सुमन राउत, कोषाध्यक्ष अर्जुन चौधरी र सह–सचिव ललित कुमण्डल चयन भएका छन्।
कार्यसमिति सदस्यहरूमा सुमन कुमार कट्टेल, सुनिल यादव, प्रदीप घिमिरे, ॐप्रकाश कार्की, अजित कुमार झा र शशि शेखर श्रेष्ठ रहेका छन्।
नवनिर्वाचित कार्यसमितिले अवैध औषधि कारोबारविरुद्ध तथ्य संकलन, बजार अनुगमनमा सक्रियता, आचारसंहिता कडाइ र सरोकारवाला निकायसँग दबाबमूलक समन्वय गर्ने प्रतिबद्धता जनाएको छ। तर विगतका प्रतिबद्धताहरू कागजमै सीमित हुँदै आएको इतिहासलाई हेर्दा, यो प्रतिबद्धता व्यवहारमा कत्तिको कार्यान्वयन हुन्छ भन्ने प्रश्न अझै अनुत्तरित छ।
पशुपंक्षी औषधि बजार सुधार केवल व्यवसायिक हितको विषय होइन, यो किसानको जीवन, उपभोक्ताको स्वास्थ्य र राष्ट्रिय खाद्य सुरक्षासँग जोडिएको गम्भीर सरोकार हो। संघको नयाँ नेतृत्वले यस यथार्थलाई बुझेर काम गर्छ कि फेरि अधिवेशन र भाषणमै सीमित हुन्छ—त्यसको मूल्याङ्कन अब समयले गर्नेछ।
नेपाल पशुपंक्षी औषधि बजार प्रतिनिधि संघ विराटनगर शाखाको प्रथम अधिवेशन सम्पन्न दोस्रो साधारण सभाबाट नयाँ कार्यसमिति चयन
- भोजराज घिमिरे





