रोशन पोखरेल, इटहरी । सुनसरीको दुहवी नगरपालिकामा नवनिर्मित १५ शय्याको दुहवी नगर आधारभूत अस्पताल सञ्चालनमा आएको छ ।
आइतबार दुहवी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदारले अस्पतालको औपचारिक उद्घाटन गरेपछि सञ्चालनमा आएको हो ।
गच्छदारले ग्रामीण क्षेत्रमा नै अत्याधुनिक उपकरणसहित न्यून शुल्कमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको बताए । दुहवीवासीको साथ, सहयोग र विश्वासकै कारण अस्पताल स्थापना सम्भव भएको उल्लेख गर्दै उनले उपचारको अभावमा कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित नहोस् भन्ने लक्ष्यसहित आगामी दिनमा अस्पतालमा थप सेवा विस्तार गरिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा दुहवी नगरपालिकाकी उपप्रमुख मेनुका पोखरेल खतिवडाले नगरवासीलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल महत्वपूर्ण माध्यम बन्ने बताइन् । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका प्रदेश सचिव डा. यदुचन्द्र घिमिरेले नगरभित्रका साथै छिमेकी स्थानीय तहका नागरिकलाई समेत सेवा पुर्याउने दुहवी नगरपालिकाको प्रयास सराहनीय रहेको बताउँदै यसमा सबै पक्षको सहयोग आवश्यक रहेको धारणा राखे ।
अस्पतालबाट इमर्जेन्सी सेवा, ओपीडी सेवा, प्रसूति सेवा, मातृशिशु तथा परिवार नियोजन सेवा, भिडियो तथा डिजिटल एक्स–रे, प्रयोगशाला सेवा, रेबिजविरुद्धको खोप, इसिजी, आँखा तथा कान उपचारलगायतका सेवा प्रदान गरिने जानकारी दिइएको छ। स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध भएपछि दुहवी नगरवासीलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँ, प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, दुहवी नगरपालिकाका वडा अध्यक्षहरू तथा विभिन्न पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।





