विराटनगर — न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल र नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलबीच स्वास्थ्य सेवा प्रभावकारी बनाउन सहकार्य गरिएको छ। आइतबार संयुक्त पत्रकार सम्मेलनमार्फत दुवै संस्थाले उक्त सहकार्यको औपचारिक घोषणा गरेका हुन्। विराटनगरलाई ‘स्वास्थ्य हब’का रूपमा विकसित गर्दै बिरामीलाई सहज, छरितो तथा गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले सम्झौता गरिएको हो।
कार्यक्रममा नोबेल मेडिकल कलेजका अध्यक्ष डा. सुनिल शर्माले निजी क्षेत्रको सक्रियताले स्वास्थ्य सेवा स्तरमा उल्लेख्य परिवर्तन ल्याइरहेको बताए। “प्रतिस्पर्धा मात्र होइन, सहकार्यले पनि उत्कृष्ट नतिजा दिन सक्छ,” उनले भने।
सम्झौता अनुसार न्यूरो अस्पतालमा आएका र क्यान्सरसम्बन्धी थप उपचार आवश्यक पर्ने बिरामीलाई नोबेल मेडिकल कलेजमा प्राथमिकताका साथ सेवा प्रदान गरिनेछ। उपचार शुल्कमा विशेष छुटको व्यवस्था पनि रहनेछ। साथै, दुवै संस्थाले चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीका लागि संयुक्त सीप विकास तालिम, कार्यशाला र मेडिकल शिक्षा कार्यक्रम सञ्चालन गर्नेछन्।
रजत जयन्ती मनाइरहेको न्यूरो अस्पतालले सेवालाई अझ गुणस्तरीय बनाउन सहकार्यलार्इ महत्वपूर्ण कदमका रूपमा लिएको छ। करिब दुई दशकदेखि सेवा दिइरहेको ७५० शैयाको नोबेल मेडिकल कलेजले क्यान्सर उपचारमा अत्याधुनिक उपकरण र सेवा विस्तार गरेको छ। सहकार्यपछि कोशी तथा मधेश प्रदेशका नागरिकलाई क्यान्सर उपचारमा थप सहजता हुने दुवै अस्पतालको विश्वास छ।





