रंगेली — रंगेली नगरपालिकाले मंसिर १४ गते आयोजना गरेको ‘किशोरी मेला २०८२’ मा न्युरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलले स्वास्थ्य सेवा र परामर्शमार्फत सक्रिय उपस्थिति जनायो। हस्पिटलको विज्ञ टोलीले मेलामा सहभागी भएकामध्ये ६०० भन्दा बढी किशोरी र अभिभावकलाई महिनावारी स्वच्छता तथा स्वास्थ्यसम्बन्धी विस्तृत परामर्श प्रदान गरेको थियो।
परामर्श सत्रमा महिनावारीबारे समाजमा कायम गलत धारणाहरू हटाउने, स्वच्छताको महत्व बुझाउने र सही स्वास्थ्य अभ्यासबारे अभिमुखीकरण गर्ने उद्देश्य राखिएको हस्पिटलले जनाएको छ। सहभागीहरूलाई सहज बुझाइ होस् भन्ने लक्ष्यसहित स्वास्थ्य सम्बन्धी सूचना सामग्री र पम्प्लेट पनि वितरण गरिएको थियो।
किशोरीहरूको स्वास्थ्य, आत्मविश्वास र सशक्तिकरणमा योगदान गर्न पाएकोमा संस्थाले गर्व व्यक्त गर्दै आगामी दिनमा पनि समुदायमा पहुँचमुखी स्वास्थ्य सेवामा निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।





