काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उत्साह अहिले देशभर फैलिएको छ । र यो उत्साह बढाउन ठूलो भूमिका खेलेको छ—पूर्वी नेपालको प्रतिनिधि टोली विराटनगर किङ्ग्सले । अब विराटनगरको चर्चा केवल पूर्वमै सीमित छैन; जनकपुर, पोखरा, बुटवलदेखि सुदूरपश्चिमसम्म सबै क्रिकेटप्रेमीको नजर अहिले यही टोलीमा अडिएको छ ।

यस पटक नेपाली राष्ट्रिय टिमका चर्चित स्पिनर सन्दीप लामिछानेसँगै चर्चित विदेशी खेलाडी आएकाले टोलीमा नयाँ ऊर्जा थपिएको छ । कप्तान सन्दीपको उत्कृष्ट फर्मले पनि किङ्ग्सलाई झन् बलियो बनाएको छ । सुवास भण्डारी, सूर्य तामाङ, लोकेश बम, प्रतिश जीसी, बसिर अहमद लगायतका स्वदेशी खेलाडीसँगै मार्टिन गप्टिल, फाफ डु प्लेसिस, जर्ज मुन्से, मर्चेन्ट डी लेङ्गे, स्याम हेजलेट लगायतका विदेशी खेलाडीले टोली अझ बलियो बनेको छ । विदेशी खेलाडीका कारण दर्शकको उत्साह दोब्बर भएको छ—रंगशालामा उर्लिएको भीडले त्यो स्पष्ट देखिन्छ ।

यो जोशको असर पहिलो खेलमै देखियो । विराटनगरले शानदार प्रदर्शन गरेपछि समर्थकको विश्वास अझै बढेको छ । अनुभवी विदेशी खेलाडीले टोलीको आत्मविश्वास पनि निकै बढाएको छ ।
यिनै कारणले यस वर्षको नेपाल प्रिमियर लिगमा विराटनगर किङ्ग्स बलियो दाबेदार बनेको छ । रंगशालामा दिनदिनै विराटनगरका समर्थकको संख्या बढ्दो छ । विराटनगर अहिले लगातार तेस्राे खेल जित्दै तालिकाकाे शीर्ष स्थानमा छ ।

विराटनगरका पुष्कर खड्का अहिले काठमाण्डौको कपनमा बस्नु हुन्छ । विराटनगरको खेल चल्नेबित्तिकै उहाँ सधैँ त्रिवि रंगशाला पुग्नु हुन्छ । उहाँ भन्नु हुन्छ, ‘पूर्वका युवामा अहिले विराटनगरप्रति जोश धेरै बढेको छ । खेल हुने दिन शहरमा मात्र होइन, गाउँ–गाउँका चोकमा पनि ठूलो पर्दा राखिन्छ । बालबालिकादेखि वृद्धसम्म सबै भेला भएर खेल हेर्छन् ।’

यस्तै उत्साह अहिले काेशी प्रदेशभरि छ । १४ जिल्लाले बनेको काेशी प्रदेश आज क्रिकेटको चर्चामा पनि ‘एक नम्बर’ बनेको छ । हिमाल, पहाड र तराई मिलेर बनेको यो प्रदेशलाई क्रिकेटले एउटै धागोमा जोडिदिएको छ । जात, भाषा, समुदाय—कुनै भेद छैन । सबै एउटै उत्साहमा बाँधिएका छन् । अनेकातामा एकता देखाउनुपरे याे प्रदेश राम्रो उदाहरण हो ।

सबैभन्दा रोचक कुरा—सुदूरपश्चिम, काठमाण्डौ, पोखरा वा लुम्बिनी जस्ता ठूला क्रिकेट पूर्वाधार भएका प्रदेशको तुलनामा यहाँ सुविधाहरू कमजोर छन् । तर खेलप्रतिको भावना, जोश र समर्थकको लहर भने कतै पनि कम छैन । यस पटकको एनपीएलमा विराटनगरलाई समर्थन गर्न हजारौं पूर्वेली दर्शक रंगशालामा उर्लिएको दृश्यले यसलाई प्रस्ट पार्छ ।

एनपीएल क्रिकेटले पूर्वेलीलाई सानो कुराबाटै ठूलो आनन्द दिन सक्छ भन्ने कुराको बलियो उदाहरण यही प्रदेशमा देखिन्छ ।

काेशी प्रदेशमा अब क्रिकेट केवल खेल मात्र रहेन । धेरैका लागि गर्व, पहिचान र र भविष्य बनेको छ । पहिले फुटबल र भलिबलको चर्चा धेरै हुने काेशीमा क्रिकेटको लोकप्रियताको विकास पनि रोचक छ ।

केही वर्षअघि पूर्वी नेपाल भन्नासाथ पहिलो सम्झिने खेल फुटबल नै हुन्थ्यो । त्यसपछि पहाडी भेगमा भलिबल । इलामदेखि झापा, ताप्लेजुङदेखि मोरङसम्म जहाँ–जहाँ प्रतियोगिता हुन्थ्यो, भलिबल र फुटबल हेर्न दर्शकको भीड खचाखच हुन्थ्याे । फुटबल त पूर्वेली भावनाको एउटा हिस्सा नै बनिसकेको थियो ।

त्यति बेला प्रविधिको पहुँच पनि सहज थिएन । खेलप्रतिको रुचि प्रायः छिमेकी संस्कृतिको प्रभावबाटै तय हुन्थ्यो । सिक्किम र दार्जिलिङमा ब्रिटिस शासनको प्रत्यक्ष प्रभावका कारण फुटबल लोकप्रिय थियो, र भौगोलिक तथा सांस्कृतिक निकटताले पूर्वी नेपालमा त्यसको प्रभाव गहिरोसँग फैलियो ।

झापा, इलाम, दमक, धरान, बेलबारी हुँदै विराटनगरसम्म फुटबलले गहिरोसँग जरा गाड्यो र बिस्तारै देशभर फैलियो ।

तर समयसँगै रुचिहरू बदलिन थाले । रेडियो लोकप्रिय हुन थाल्यो—प्रत्येक घण्टा बज्ने समाचारमा क्रिकेटका अपडेट सुनिन्थे । धेरैले क्रिकेटलाई पहिलो पटक रेडियोबाटै चिन्थे ।

त्यसपछि टेलिभिजन बिस्तारै घरघरमा पुग्न थाल्यो । भारतसँगको व्यापारिक निकटताका कारण विराटनगरमा टिभी छिट्टै चल्तीमा आयो । छतमा चढेर एन्टेना मिलाउँदै क्रिकेट हेर्ने दिन आयो । नेपाल टेलिभिजनसँगै भारतीय दूरदर्शन सबैभन्दा धेरै देखिन्थ्यो, र दूरदर्शनमा क्रिकेटको नियमित प्रसारण हुन्थ्यो । यही कारण धेरै पूर्वेलीको ध्यान बिस्तारै क्रिकेटतिर तानिन थाल्यो ।

भारतसँगको खुला सीमाले क्रिकेट संस्कृतिलाई अझै नजिक ल्यायो । सीमावर्ती बस्तीका युवाहरू भारतीय क्रिकेटरहरूलाई हेर्दै, उनीहरूको शैली नक्कल गर्दै, आफ्नै ब्याट–बल लिएर ‘सिको’ गर्न शुरू गरे ।

यसै क्रममा नेपालमै पनि क्रिकेटप्रतिको मोह बढ्दै गयो । राष्ट्रियस्तरका प्रतियोगिता शुरू भए, डिभिजन लिगका खेल शहर–शहरमा चल्न थाले ।

त्यस समयमा प्रत्यक्ष प्रसारण त थिएन, तर टेलिभिजनको कुनामा देखिने सानो स्कोर अपडेट हेरेर दर्शक खेलको स्थिति बुझ्थे । पछि मोबाइल आए—पोस्टपेडबाट म्यासेज पठाएर स्कोर हेर्ने जमाना आयो ।

इन्टरनेट फैलिँदै जाँदा वेबसाइटमा स्कोर हेर्ने, २–३ किलोमिटर टाढाको साइबर क्याफे पुगेर २०–२५ रुपैयाँ तिरेर हाइलाइट हेर्ने—यी सबैले क्रिकेटको मोहलाई झन् गहिरो बनायो ।

पहिले फुटबलकै चर्चा रहने पूर्वी भेगमा क्रिकेट बिस्तारै प्रिय बन्न थाल्यो । ‘खेलकुदमा भविष्य छैन’ भन्ने पुरानो सोच हराउँदै गयो । आज क्रिकेट पूर्वेली पहिचान, उत्साह र संस्कृति बनेर उभिएको छ ।

यसबीच नेपाली राष्ट्रिय टोलीले प्राप्त गरेको सफलता र अहिलेको नेपाल प्रिमियर लिगले क्रिकेटको सम्भावनालाई अझ उज्यालो बनाइदिएको छ ।

आज पूर्वी नेपालका नयाँ पुस्ताका लागि क्रिकेट केवल खेल होइन—संस्कृति बनेको छ ।

भक्तपुरको कौशलटारमा बस्ने विराटनगरका आयुस सेढाईं भन्नु हुन्छ, ‘काठमाण्डौको टुँडिखेल जस्तै पूर्वमा पनि ठाउँ–ठाउँमा युवाहरू ठूलो समूहमा भेला भएर क्रिकेट खेलिरहेका भेटिन्छन् । रमाइलो पनि हुन्छ, प्रतिस्पर्धा पनि । पूर्वका युवाले अब क्रिकेट हेर्न मात्र होइन, भविष्यका खेलाडी बन्ने लक्ष्य लिएर अघि बढ्न थालेका छन् ।’

उहाँका अनुसार विदेशी खेलाडीको आगमनसँगै विराटनगरको चर्चा झन् चुलिएको छ । उत्कृष्ट खेलाडीले भरिएको टोली, बढ्दो फ्यानबेस र मैदानमा फैलिएको उत्साह—यी सबै कारणले किङ्ग्सलाई यस पटकको लिगका सबैभन्दा चर्चित टोलीमध्ये एक बनाएकाे छ ।

झापाका सम्राट प्रसाईं अहिले ललितपुरकाे लोकन्थलीमा बस्नु हुन्छ । उहाँ भन्नु हुन्छ, ‘काेशी प्रदेशमा क्रिकेटको विकास अहिले निकै तीव्र गतिमा अगाडि बढिरहेको छ । विद्यालय तहदेखि नै प्रशिक्षक राखेर प्रशिक्षण दिने, स्थानीय खेलहरूको आयोजना बढ्दै जाने, र विभिन्न प्रतियोगितामा सक्रिय सहभागिताले नयाँ–नयाँ खेलाडी जन्मिरहेका छन् ।’

नेपाल प्रिमियर लिगले स्वदेशी खेलाडीलाई सिक्ने र अनुभव बटुल्ने ठूलो मौका दिएको छ । किङ्ग्समा आएका चर्चित विदेशी खेलाडीले समर्थकको विश्वास बढाउनुका साथै नेपाली खेलाडीका लागि ठूलो प्रेरणा बनेका छन् । नामी खेलाडीसँग सँगै बसेर खेल बुझ्ने, अभ्यास गर्ने र रणनीति सिक्ने अवसर पाउनु नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धि हो ।

यही कारण धेरैको आशा छ—लिगको स्तर अझै माथि उठ्नेछ, खेल अझ गुणस्तरीय बन्छ, र यसले नेपाली क्रिकेटको भविष्य बलियो बनाउँछ ।

इलाम घर भई अहिले काठमाण्डाैकाे बानेश्वरमा बस्ने गगनसिंह सुवेदी त अझै ढुक्क हुनु हुन्छ—‘यस पटकको लिगको ट्रफी विराटनगरले नै जित्छ ।’

तपाईको प्रतिक्रिया