काठमाण्डौ – ‘फ्लड लाइट’ को उज्यालो र १० हजारभन्दा बढी दर्शकलाई साक्षी राखेर नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण हिजोदेखि शुरू भयो । कीर्तिपुरको चिसो डाँडामा साँझ अबेरसम्म हजारौँ दर्शक क्रिकेटको रौनकमा रमाए । तीन दिनअघि नै उद्घाटन खेलको टिकट ‘सोल्ड आउट’ भए पनि खेल नसकिँदासम्म मैदान बाहिर पनि हजारौँ दर्शक बसिरहे ।

टिकट नपाउनेहरु कसैले रुखमै चढेर खेल हेरे भने कतिले अग्लो स्थानमा बसेर टाढैबाट हेर्दै प्रतियोगिताको साक्षी बने । नेपाली क्रिकेटको यो महाकुभ्म मेला यही मङ्सिर २७ गतेसम्म यसैगरी चल्नेछ । जहाँ हरेक दिन हजारौँ दर्शकले साथ दिनेछन् । एनपीएलको पहिलो संस्करण अपेक्षा गरिएभन्दा बढी सफल भएपछि दोस्रो संस्करण थप स्तरीय मात्रै भएको छैन, यसले नेपाली मनलाई एकापसमा जोड्ने बलियो माध्यम पनि भएको छ ।

पूर्वाधारका हिसाबले यस वर्ष फ्लड लाइट थपिएको छ । नेपाली दर्शकले पहिलोपटक क्रिकेटमा ‘डे–नाइट’ खेल हेर्न पाएका छन् । गएको वर्ष खुला मैदानमा खचाखच भरिएका दर्शक यसपटक सहज रुपमा सिटमा बसेर रमाए । नयाँ क्रिकेट खेलाडीले मौका पाए । एनपीएलको चर्चा विदेशी क्रिकेटप्रेमीमाझ अझ बलियो भयो । विदेशका  पूर्वक्रिकेटरहरु प्रशिक्षकका रुपमा एनपीएलमा जोडिएका छन् ।

त्रिवि क्रिकेट मैदानको प्यारापिट निर्माणमा ४४ करोड ७७ लाख रुपैयाँ र फ्लड लाइटका लागि ४२ करोड १९ लाख रुपैयाँ खर्च भइसकेको छ । एउटै मैदानको स्तरोन्नतिका लागि यति ठूलो रकम एकै पटक जुट्न दर्शकको साथकै कारण सम्भव भएको हो । त्यसैले त एनपीएल खेलमा मात्रै सीमित नभई आर्थिक र सामाजिक दृष्टिले पनि महत्त्वपूर्ण बनेको छ । यो पछिल्लो समय विविधतायुक्त नेपाली समाजलाई एकताको सूत्रमा बाँध्ने सेतु बनेको छ ।

एनपीएल दोस्रो संस्करणको पहिलो खेल पहिलो संस्करणका विजेता जनकपुर बोल्ट्स र काठमाण्डौ गुर्खाजबीच भयो । जसमा काठमाण्डौ गुर्खाजले नतिजा पाँच विकेटले आफ्नो पक्षमा पार्न सफल भयो । एनपीएलको पहिलो खेलमा राष्ट्रिय टिमका ओपनर आशिफ शेखले अर्धशतकीय पारीसँगै दर्शकको मन जिते । पहिलो पारीमा विदेशी खेलाडी मिलिन्द कुमारले किफायती बलिङ गर्दै महत्त्वपूर्ण तीन विकेट लिए । जनकपुरका लागि मयन यादवले ३४ रन र लहिरु समाराकुनले २२ रन जोडे र जनकपुरले काठमाण्डौ सामु १३१ रनको सामान्य लक्ष्य प्रस्तुत गर्याे ।

लक्ष्य पछ्याएको काठमाण्डौको शुरूआत निकै राम्रो भयो । पहिलो विकेटका लागि ७० रनको साझेदारी गरेको काठमाण्डौको गति भने त्यसपछि सुस्त भयो । उसका लागि ओपनरद्वय आकाश त्रिपाठी र बेन चाल्र्सवर्थले क्रमशः ३९ र ४६ रनको योगदान दिए । काठमाण्डौ गुर्खाजका कप्तान करण केसीले खेलपछि प्रतिक्रिया दिँदै हिजोको खेलमा स्पिनरलाई पिचले साथ दिएको बताए ।

दोस्रो संस्करणको एनपीएलमा पनि पहिलो संस्करणमा जस्तै एन्ड्रयु लियोनार्डले ‘कमेन्ट्री’ मार्फत टेलिभिजन दर्शकलाई थप रोमाञ्चक बनाए । सदाझैँ विदेशी ‘कमेन्टेटर’ लाई नेपाल र ढाका टोपीको बयान गर्न छुट्टाएनन् । आयरल्याण्डमा जन्मिए पनि एन्ड्रयु नेपाली दर्शकका कारण चर्चामा छन् । उनलाई नेपाली दर्शकले टक्लु उपनाम दिएका छन् ।

एनपीएल विजेताले टोलीले एक करोड १० लाख रुपैयाँ पाउने छ । साथै दोस्रो हुनेले ५१ लाख रुपैयाँ र तेस्रो हुनेले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा विराटनगर किङ्स, जनकपुर बोल्ट्स, काठमाण्डौ गुर्खाज, चितवन राइनोज, पोखरा एभेञ्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स छन् ।

विदेशी खेलाडी
विराटनगर किङ्सले यसपटक दक्षिण अफ्रिकाका पूर्वकप्तान फाप डुप्लेसिलाई भित्र्याएको छ । त्यसबाहेक न्यूजिल्याण्डका मार्टिन गप्टिल र मर्चेन्ट डि लांगे, स्कटल्याण्डका जर्ज मुन्सी, अष्ट्रेलियाका हिजलेट र अमेरिकाका शुभम रञ्जनेलाई ल्याएको छ ।

पोखरा एभेञ्जर्सले यसपटक न्यूजिल्याण्डका स्टार जिमी निशम, इंग्ल्याण्डका जेसन रोय, एडम रोसिंटन, ड्यान डौथवेट र वेस्ट इन्डिजका रेयमन रइफरलाई ल्याएको छ । सुदूरपश्चिम रोयल्सले अष्ट्रेलियाबाट क्रिस लिन र जोस ब्राउन, न्युजिल्याण्डबाट स्कट कुग्लाइन र अमेरिकाबाट हरमित सिंहलाई भित्र्याएको छ ।

जनकपुर बोल्ट्सले दक्षिण अफ्रिकाका वेन पार्नेल, श्रीलङ्काबाट लाहिरु मिलान्था, लाहिरु समरकुन, सङ्गीत कोरे, नामिबियाका जाननिकोल लोफ्टी इटन र अमेरिकाका सञ्जय कृष्णमूर्तिलाई ल्याएको छ । चितवन राइनोजले इंग्लायण्डबाट रवि वोपरा, डेविड मलान, सैफ अली जैब, पाकिस्तानबाट सोहेल तनबिर र युगाण्डाका अल्पेस रामजानीलाई ल्याएको छ ।

लुम्बिनी लायन्सले अष्ट्रेलियाबाट डार्सी सर्ट, अफगानिस्तानका गुल्बदिन नाइब, इटालीका थोमस ड्राका तथा नामिबियाका रुबेन ट्रम्पलम्यान र जेजे स्मितसँग अनुबन्ध गरेको छ । काठमाण्डौ गुर्खाजले विदेशी कोटाबाट इङ्गलायण्डका जोन सिम्पसन, बेन चाल्र्सवर्थ, नामिबियाका जेरार्ड इरासमस, भारत सन्नी पटेल, दक्षिण अफ्रिकाका रिकार्डो भास्कोनसेलोस र अमेरिकाका मिलिन्द कुमारलाई अनुबन्ध गरेको छ ।

साथै कर्णाली याक्स पनि अष्ट्रेलियाका विल बोसिस्टो, भारतका प्रियांक पाञ्चाल र जयकिशन कोलसावाला, नेदरल्याण्ड म्याक्स ओडाउड, स्कटल्याण्डका मार्क वाट र अफगानिस्तानका नाजिबउल्लाह जाद्रानलाई अनुबन्ध गरेको हो ।

तपाईको प्रतिक्रिया