काठमाण्डाै – नेपालमा पाठेघरको मुखमा हुने क्यान्सरका कारण हरेक दिन चार जना महिलाको ज्यान जाने गरेको पाइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार औसतमा प्रतिदिन ६ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखा पर्ने गरेको छ । नेपालमा क्यान्सरबाट महिलाको ज्यान जाने पहिलो कारणमा पाठेघरको मुखको क्यान्सर हो ।

रोकथाम गर्न सकिने हुँदाहुँदै पनि यो समस्या बढिरहेको मन्त्रालयले जनाएको छ । पाठेघरको मुखको क्यान्सर हुने जोखिम घटाउन समयमै स्क्रिनिङ, एचपीभी खोप विस्तार, जनचेतना वृद्धि र स्वास्थ्य प्रणाली सुदृढीकरण गर्नुपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले बताउनुभयो ।

मन्त्रालयले गएको वर्षदेखि राष्ट्रिय खोप कार्यक्रममा एचपीभी खोपलाई समावेश गरी ९४ प्रतिशत किशोरीलाई पहिलो पटक निःशुल्क सेवा प्रदान गरेको छ । यस वर्षको फागुनमा विद्यालय जाने ६ कक्षाका छात्रा र विद्यालयबाहिर रहेका १० वर्षका किशोरीलाई खोप दिने कार्यक्रम रहेको डाक्टर देवकोटाले बताउनुभयो ।

चिकित्सकका अनुसार ३० वर्ष उमेरभन्दा माथिका सबै महिलाले नियमित रूपमा पाठेघरको मुखको प्रारम्भिक जाँच गराउनुपर्दछ ।

यसैबीच आज विश्व पाठेघर मुखको क्यान्सर निवारण दिवस मनाइएकाे छ । नोभेम्बर १७ तारिखमा मनाइने दिवसको यस वर्षको नारा ‘आजैदेखि लागौँ : पाठेघरको मुखको क्यान्सर निवारण गरौँ’ भन्ने रहेको छ ।

तपाईको प्रतिक्रिया