भदौ २४ गतेको जेन जी विध्वंशमा नष्ट पारिएको सर्वोच्च अदालतको सूचना प्रणाली र वेबसाइट पुनः सञ्चालनमा आएको छ । आपराधिक समूहले गरेको तोडफोड र आगलागीपछि छ हप्तासम्म पूर्ण रूपमा अवरुद्ध भएको वेबसाइट आजदेखि पूर्ववत् रुपमा सञ्चालनमा आएको छ ।
सर्वोच्च अदालतले आफ्नो इलेक्ट्रोनिक डेटा सफलतापूर्वक पुनः प्राप्त गरेको जनाएको छ। विध्वंशपछि अदालतका डिजिटल अभिलेख,फाइल र प्रशासनिक प्रणालीहरू क्षतिग्रस्त भएका थिए ।
आफ्नो महत्वपूर्ण सम्पत्ति पुनः सञ्चालनमा आउनु ठूलो क्षतिको बीचमा आशाको किरण भएको सर्वोच्च स्रोतको भनाई छ । ‘यो रिकभरी अर्थात् पुनःस्थापना न्याय प्रशासनको निरन्तरताका लागि महत्त्वपूर्ण उपलब्धि हो,’ स्रोतले भन्यो,‘प्राविधिक टोली र नेतृत्वको प्रतिबद्धताले सम्भव भएको हो ।’





