मोरङ । अन्तर्राष्ट्रिय लैंगिक हिंसाविरुद्ध दिवस २०२६ को अवसरमा मोरङको विराटनगरमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गरिएको छ । लैंगिक हिंसाको अन्त्य, पीडितको संरक्षण तथा न्यायको सुनिश्चितताका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बुधबार प्रभातफेरी र कोणसभा आयोजना गरी अभियानको शुभारम्भ गरिएको हो ।

विराटनगर महानगरपालिकाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय मोरङलगायत विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, सामाजिक अभियन्ता तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो ।

‘लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता, पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने मूल नाराका साथ सुरु भएको अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुनेछ ।

हरेक वर्ष नोभेम्बर २५ लाई अन्तर्राष्ट्रिय लैंगिक हिंसाविरुद्ध दिवसका रूपमा मनाइँदै आएको छ। यसै अवसरमा विश्वभर नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरिन्छ । महिलामाथि हुने हिंसा, घरेलु हिंसा, यौनजन्य दुर्व्यवहार, बालविवाह, मानव बेचबिखन तथा विभिन्न प्रकारका विभेद र शोषणविरुद्ध आवाज उठाउनु अभियानको मुख्य उद्देश्य हो ।

कार्यक्रमअन्तर्गत आयोजित प्रभातफेरीले विराटनगरका विभिन्न क्षेत्रमा परिक्रमा गर्दै लैंगिक हिंसाविरुद्ध जनचेतनामूलक सन्देश प्रवाह गरेको थियो । सहभागीहरूले लैंगिक हिंसा अन्त्य गरौँ, हिंसापीडितलाई न्याय दिलाऔँ, महिलाको सम्मान र सुरक्षा सुनिश्चित गरौँलगायतका सन्देशमूलक नारासहित अभियानप्रति ऐक्यबद्धता जनाएका थिए ।

प्रभातफेरीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले लैंगिक हिंसा अन्त्यका लागि परिवार, समाज, स्थानीय सरकार, प्रहरी प्रशासन तथा नागरिक समाज सबैको साझा प्रतिबद्धता आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

लैंगिक हिंसा कुनै एक व्यक्ति वा परिवारको मात्रै समस्या नभई समग्र समाजको चुनौती भएकाले यसको अन्त्यका लागि सामाजिक सोच र व्यवहारमा परिवर्तन ल्याउनुपर्नेमा कार्यक्रमका वक्ताहरूले जोड दिएका थिए ।

हिंसामा परेका व्यक्तिले खुलेर आफ्ना समस्या राख्न सक्ने वातावरण निर्माण गर्नुपर्ने, पीडितलाई सामाजिक रूपमा अपहेलित गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने तथा पीडितलाई न्याय दिलाउन सम्बन्धित निकाय थप जिम्मेवार हुनुपर्ने विषय पनि कार्यक्रममा उठाइएको थियो ।

त्यसैगरी, लैंगिक हिंसाका घटनालाई लुकाउने वा मिलापत्रका नाममा पीडितलाई न्यायबाट वञ्चित गर्ने प्रवृत्तिको अन्त्य गर्दै पीडितको सुरक्षा, संरक्षण र न्यायमा सहज पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो ।

१६ दिने अभियानलाई केवल औपचारिक कार्यक्रमका रूपमा सीमित नराखी समुदायस्तरसम्म जनचेतना फैलाउने, हिंसाविरुद्ध आवाज उठाउने र पीडितलाई सहयोग गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा पनि जोड दिइएको थियो ।

अभियानको अवधिमा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाको समन्वयमा लैंगिक हिंसाविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै हिंसामुक्त, सुरक्षित र समानतामूलक समाज निर्माणका लागि सामूहिक पहल गरिने अपेक्षा गरिएको छ ।

लैंगिक हिंसाको अन्त्यका लागि कानुनी व्यवस्था मात्रै पर्याप्त नहुने भएकाले हरेक नागरिकको सोच, व्यवहार र सामाजिक जिम्मेवारीमा परिवर्तन आवश्यक रहेको सन्देशसमेत कार्यक्रमले दिएको छ ।

तपाईको प्रतिक्रिया