काठमाडौं। आज कात्तिक कृष्ण प्रतिपदा, आज हिन्दु धर्मावलम्बीकाे गाई तिहार। बिहानैदेखि घरघरमा दूध, दुना, धूप र दीपले गाईको पुजा हुँदै छ। हिन्दु धर्ममा गाईलाई ‘माता’ मान्ने परम्परा आजको दिन विशेष रुपमा प्रकट हुन्छ।

गाई, धन र लक्ष्मीको प्रतीक

गाईलाई हिन्दु धर्मशास्त्रमा ‘धनधान्यकी देवी लक्ष्मीको स्वरूप’ मानिन्छ। लक्ष्मीका सबै प्रतीक- दूध, घ्यू, दही, मुत्र, गोबर गाईसँग जोडिएका छन्। धर्मशास्त्रमा भनिएको छ, ‘गावो विश्वस्य मातर।’ अर्थात, गाई सम्पूर्ण विश्वकी आमा हुन।

यसैले त, लक्ष्मी पुजाको पूर्वसन्ध्यामा गाईको पुजा गरिन्छ। यस दिन गाईको सिङ र पुच्छरमा रंग लगाइन्छ। घाँटीमा फूलमाला र बेलपत्रको माला लगाइन्छ। बिहान गाईलाई पुजा गरेर बेलुकी दीप बालिन्छ। ताकि, देवी लक्ष्मीको प्रवेश घरमा सहज होस् भन्ने विश्वास हुन्छ।

गाई केवल धार्मिक दृष्टिले होइन, जीवनका प्रत्येक तहमा उपयोगी प्राणी हो।

गाईले दिने दूध, दही, घ्यू, गोबर र मूत्र सबैलाई शुद्धता र स्वास्थ्यसँग जोडिएको मानिन्छ। गोबरबाट लिपिएको आँगनलाई पवित्र ठानिन्छ। घ्यूलाई यज्ञको मूल तत्व मानिन्छ। त्यसैले, यो दिनलाई कृतज्ञताको पर्व पनि भनिन्छ। यसले ‘देइने माताको आशीर्वाद’ सम्झाउने अवसर दिन्छ।

पुजा विधि र परम्परा

आज बिहान गाईलाई नुहाइ-धुवाइ गरी तिल, अक्षता, धूप, फूल र माला चढाइन्छ। गाईको सिङ्गमा रङ्ग लगाइन्छ। निधारमा टीका लगाइन्छ।

कतिपय स्थानमा गाईलाई घुमाउँदै गाउँभर घुमाइने, ढोल नगारा बजाइने र गाउँका बालबालिकाले ‘गाई तिहार, लक्ष्मी आउ’ भनेर गीत गाउँदै हिँड्ने प्रचलन अझै जीवित छ।

धार्मिक मान्यताअनुसार गाईको पुजा गर्दा घरमा धनधान्य, सुख-समृद्धि र शान्ति बसोबास गर्छ। गाईलाई चामल, फलफूल, तेल र बलिभोज अर्पण गरेर पुजा सम्पन्न गरिन्छ।

तपाईको प्रतिक्रिया