रुपन्देही । रुपन्देही प्रहरीले बुटवलस्थित यातायात व्यवस्था कार्यालय परिसरबाट बिचौलियाको काममा संलग्न सात जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक कृष्णकुमार चन्दका अनुसार सोमबार बुटवल उपमहानगरपालिका–१३ स्थित यातायात व्यवस्था कार्यालय रुपन्देहीको परिसरमा सेवाग्राहीलाई लक्षित गरी बिचौलियाको काम गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएकाहरुमा गुल्मीको मालिका गाउँपालिका–५ का २३ वर्षीय मनोज अर्याल, रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ का ४२ वर्षीय हेमप्रसाद भट्टराई, बुटवल उपमहानगरपालिका–१३ का ४३ वर्षीया लक्ष्मी खनाल र ६२ वर्षीय खोमलाल भुसाल रहेका छन् ।

त्यसैगरी बुटवल उपमहानगरपालिका–२ का ५४ वर्षीय केशिराम खनाल, शुद्धोधन गाउँपालिका–८ का ३१ वर्षीय विजय क्षेत्री तथा पाल्पाको बगनासकाली गाउँपालिका–१ का ५३ वर्षीय प्रमोदराज श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

यातायात कार्यालयमा आउने सेवाग्राहीलाई सहज रूपमा सेवा प्रवाह गर्ने वातावरण बनाउन तथा बिचौलियाको गतिविधि नियन्त्रण गर्ने उद्देश्यले उनीहरुलाई नियन्त्रणमा लिइएको चन्दले बताए ।

नियन्त्रणमा लिइएका सातै जनामाथि थप अनुसन्धान कार्य जारी रहेको चन्दले जानकारी दिए । यातायात कार्यालयमा हुने सेवाप्रवाहलाई पारदर्शी, सहज र बिचौलियामुक्त बनाउन प्रहरीले निगरानी तथा कारबाहीलाई निरन्तरता दिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया