विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा इलाम जिल्लाको माइजोगमाई गाउँपालिकामा बीमाको महत्व, पहुँच तथा प्रभावकारी कार्यान्वयनका विषयमा बीमासम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम मंगलबार सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय विराटनगरका कार्यालय प्रमुख राजेन्द्र महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बीमाको महत्व, बीमाको आवश्यकता, कृषि तथा पशुपन्छी बीमा, बीमा दाबी प्रक्रिया, बीमितको अधिकार तथा बीमा सेवाको प्रभावकारी कार्यान्वयनका विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो ।
कार्याक्रमका प्रमुख अतिथी गाउँपालिकाका अध्इष कुश बहादुर थेवे ले बीमालाई स्थानीय नागरिकको आर्थिक सुरक्षा र जोखिम न्यूनीकरणको महत्वपूर्ण माध्यमका रूपमा विकास गर्नुपर्ने बताउनुभयो। उहाँले गाउँपालिकाका भवन, सवारीसाधन तथा अन्य सम्पत्तिको बीमा गर्नुका साथै स्थानीय नागरिक, कृषक तथा पशुपालकलाई बीमाको दायरामा ल्याउन गाउँपालिकाले आवश्यक पहल र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा माइजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव प्रसाद आचार्यले बीमाको आवश्यकता र स्थानीय तहबाट बीमा कार्यक्रमको प्रवद्र्धन तथा कार्यान्वयनमा गर्न सकिने सहयोगका विषयमा आफ्नो धारणा राख्नुभएको थियो। गाउँपालिकाका उपाध्यक्ष प्रविना राईले बीमालाई नागरिकको आर्थिक सुरक्षासँग जोड्दै विशेषगरी कृषि तथा पशुपन्छी बीमाको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिनुभएको थियो ।उहाँले बीमा विषयमा ग्रामिण क्षेत्र सम्म यसको प्रभावकारी रुपमा पहुँच र विस्तार गर्नुपर्ने आवश्यकता औलाउनुभयो ।
कार्यक्रममा सहभागीहरूबाट उठेका जिज्ञासा तथा प्रश्नहरूको जवाफ दिँदै नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख राजेन्द्र महर्जनले आगामी दिनमा माइजोगमाई गाउँपालिकासँग समन्वय गरी गाउँपालिकाका सम्पत्ति, कर्मचारी तथा स्थानीय नागरिकको दुर्घटना बीमा लगायतका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताउनुभयो। उहाँले स्थानीय तहलाई क्रमशः बीमामय बनाउँदै बीमाको पहुँच विस्तार गर्न नेपाल बीमा प्राधिकरण कोशी प्रादेशिक कार्यालय ले स्थानिय स्तर सम्म नै सचेतना कार्यक्रम अगाडी बढाउदै गएको उहाँले बताउनुभयो ।
कार्यक्रमले स्थानीय तहमा बीमासम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै कृषि तथा पशुपन्छी बीमाको पहुँच विस्तार, बीमा दाबी प्रक्रियामा सहजीकरण र स्थानीय सरकार तथा बीमा क्षेत्रबीचको समन्वय सुदृढ गर्न महत्वपूर्ण योगदान सहभागीले धारण राखेका थिए । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारी, कृषक, सहकारीकर्मी, स्थानीय उद्यमी तथा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो । साथै कार्याक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय सहायक निर्देशक सविता झा ले गर्नुभएको थियो ।





