विराटनगरस्थित विराट टिचिङ अस्पतालमा कार्यरत नर्सहरूले तलब वृद्धि र सेवा सुविधाको माग गर्दै सुरु गरेको आन्दोलन चर्किंदै गएको छ। आन्दोलनका कारण अस्पतालले नयाँ बिरामी भर्ना लिन अस्थायी रूपमा रोक लगाएको छ।

अस्पतालका सीईओ डेनिस कार्कीका अनुसार हाल अस्पतालमा करिब ४५० बिरामी उपचाररत छन्। तर नियमित नर्सहरू काममा नआएपछि सेवा सञ्चालनमा कठिनाइ आएको छ। अहिले मेडिकल कलेजका विद्यार्थी नर्सहरूलाई अस्थायी रूपमा परिचालन गरेर सेवा जारी राखिएको छ।

गम्भीर प्रकृतिका बिरामी तथा बालरोग विभागका केसहरू अन्य अस्पतालमा रेफर गर्न थालिएको छ भने इमर्जेन्सी कक्षमा समेत नयाँ बिरामी भर्ना अस्थायी रूपमा रोकिएको छ।

सीईओ कार्कीका अनुसार नर्सहरूले उठाएका तलब तथा सुविधा सम्बन्धी मागहरू अस्पतालको अधिकार क्षेत्रभन्दा बाहिरका छन् र यसमा नीतिगत निर्णय सरकारले लिनुपर्ने हुन्छ।

उता, आन्दोलनरत नर्सहरूले आफ्ना माग लामो समयदेखि बेवास्ता भएकाले आन्दोलनमा उत्रन बाध्य भएको बताएका छन्। उनीहरूले माग पूरा नभएसम्म सेवा बहिष्कार जारी राख्ने चेतावनी दिएका छन्।

नेपालका धेरै निजी अस्पतालमा नर्सहरूले न्यून तलब पाउने गुनासो छ, जसले गर्दा यस्ता आन्दोलनहरू दोहोरिरहने स्थिति देखिएको छ।

तपाईको प्रतिक्रिया