काठमाडौं । बाढीपहिरोबाट घर गुमाएकालाई तत्काल अस्थायी बसोबासको व्यवस्था सरकारले मिलाउने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकारले यस्तो जानकारी गराएको हो ।
सरकारले बाढीपहिरो प्रभावितलाई तत्काल राहत रकम पनि उपलब्ध गराउने भएको हो । बाढीपहिरोबाट कसैको घर भत्केको पाइएमा सरकारले तत्काल अस्थायी आवासमा सार्ने र दीर्घकालीन रूपमा स्थायी आवासको व्यवस्था मिलाउने निर्णय बैठकले गरेको हो ।
अस्थायी आवासका लागि विपद् प्राधिकरणबाट ५० हजार रुपैयाँ उपलब्ध गराइने छ । सो रकममध्ये २५ हजार रुपैयाँ तत्काल र २५ हजार रुपैयाँ चाहिँ एक लेबलको घरको संरचना बनेपछि मापदण्ड अनुसार उपलब्ध गराउने निर्णय बैठकले गरेको छ ।